सिन्धुली र रामेछाप जिल्ला जोड्ने निर्माणाधिन अवस्थामा रहेको खैरेनीघाटको अधुरो पुल

रामेछाप । दश वर्ष अघि निर्माण शुरु गरेको रामेछाप र सिन्धुली जोड्ने खैरेनीघाटको पूल अझै १० महिना लाग्ने भएको छ । सुनकोसीमा निर्माणाधिन अवस्थामा रहेको यो पुल ठेकदारको लापरबाहीका कारण यति धेरै समय लागेको स्थानीयको आरोप छ ।

दस बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुल निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण समयमा नै निर्माण हुन सकेको छैन् । नौ बर्ष अघि पुल निर्माणको जिम्मेवारी लामा÷खम्पाचे÷कन्काई जेभीले लिएको थियो ।

तर बीचमा निर्माणको जिम्मेवारी पाएको लामा÷खम्पाचेले समयमा नै काम सम्पन्न नगरेपछि स्थानीयले निर्माण कम्पनीको विरुद्ध सरकारलाई उजरी दिएका थिए । काम समयमा नै नगरेको भन्दे डिभिजन सडक कार्यालय खुर्कोटले सार्वजनिक सूचना नै जारी भएपनि पुल निर्माणको जिम्मेवार कन्काई निर्माण सेवाले लिएको छ ।

पुल निर्माण अन्तर्गत सिन्धुली तर्फको तीन वटा पिलर उठाएर ढलान गर्ने काम सम्पन्न भएको छ भने रामेछाप तर्फको पिलर निर्माणको कार्य सम्पन्न भएको छ ।

कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले पुल निर्माण अन्गर्तत अब ट्रष्टको काम मात्र बाँकी रहेको बताए । उनले भने, ‘पुलको दुवै तर्फको पिलर निर्माण सम्पन्न भइसकेको छ, साठी मिटर ट्रष्ट फिटिङ गर्न बर्षाको कारण सकिएको छैन ।’ मैनालीले भने, ‘पुल निर्माणको लागि सबै सामान पुल निर्माणस्थलमा पुगिसकेको छ, सुनकोसीमा पानीको बहाप घटनासाथ काम सुरु हुन्छ ।’

मैलानीका अनुसार आगामी असोज अन्तिमबाट काम सुरु भएको अवस्थामा पाँच महिनाभित्र ट्रष्टको फिटिङ गर्ने कार्य सम्पन्न हुनेछ । ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न भएको अवस्थामा आगामी वैशाकभित्रमा खैरेनीघाटको पुल निर्माण कार्य सम्पन्न हुनेछ ।

पूर्व गृह राज्यमन्त्री समेत रहेका रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले पुल निर्माणको लागि अहिले पनि निर्माण कम्पनीलाई बारम्बार दबाब दिइरहेको बताए । उनले भने, ‘विगतमा निर्माण कम्पनीको ढिलासुस्तीकै कारण पुल निर्माणमा ढिलाई भएको हो, अब पुल निर्माण अन्तर्गत ट्रष्ट मात्र जडानको काम बाँकी छ, सुनकोसी नदीमा पानीको सतह घटने वित्तिकै काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ ।’

खैरेनीघाटको पुल निर्माण नहुँदा अहिले सबै भन्दा बढी मारमा रामेछापको सुनापती र दोरम्बा गाउँपालिका बासिन्दा परेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।