काभ्रे । नेपाल तामाङ घेदुङको प्रथम नमोबुद्ध नगर भेलाले सुनिता लामाखोरको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटि गठन गरेको छ ।

शनिबार नमोबुद्ध नगरसभा हलमा सम्पन्न भेलाले लामाखोरको नेतृत्वमा कमिटि गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा राजेश तामाङ, महिला उपाध्यक्षमा एलिसा तामाङ, सचिवमा छेडुप तामाङ, कोषाध्यक्षमा कार्साङ तामाङलाई चयन गरेको छ । सदस्यहरुमा सुस्मिता तामाङ,,विशाल तामाङ, काइली तामाङ, राजकुमार तामाङ, सुनिता लामा, निल बहादुर तामाङ, बिर्मान तामाङ रहेका छन् भने बाँकी आगामी बैठकले नियुक्ति गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङका केन्द्रिय महासचिव बाबु घिसिङले तामाङ समुदायमा घेदुङले खेलेको भूमिकाकोबारेमा चर्चा गरे । साथै आफूहरु आन्दोलनकै चरणमा रहेकोले प्रदेशको नामाकरणको लागि फेरि एकपटक तामाङ समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

अर्का अथिति घेदुङका विदेश विभाग प्रमुख टासी लामाले शासक जातिको सहयोग विना आन्दोलन सफल नहुने चर्चा गरे । साथै उत्पीडित समुदाय वा जातिलाई अधिकार दिएन भने शासक जाति पनि चैनले बस्न नपाउने स्पष्ट पारे ।

त्यसैगरि नपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रिय अध्यक्ष हर्क तामाङले तामाङ जातिको अधिकारको कुरा गर्दा जातिवादी दृष्टिकोणले हेरेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा नमोबुद्ध–७ का वडा अध्यक्ष धर्मसिं लामा, घेदुङका केन्द्रिय सदस्य ग्याम्जो थोकर, आदिवासी जनजाति पत्रकार महासंघको जिल्ला अध्यक्ष शिशिर दोङ, नेपाल तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष जगत तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङका पूर्व अध्यक्ष सिएस दोङ, घेदुङका जिल्ला सदस्य सुभद्र तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम छेवाङ लामाको सञ्चालनमा तथा नीमा डोल्मा मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।