काभ्रे । जिल्ला सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा नभएको भन्ने सुन्दा जोकोहीलाई पनि अचम्म लाग्नु स्वभाविक हो । किनकी विभिन्न गाउँपालिकाहरु जसलाई विकट मानिएको छ ती खुल्ला दिशामुक्त घोषणा प्राय भइसकेको छ ।

खुल्ला दिशा मुक्त घोषणा किन भएन ?

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा १ सय ८० घरधुरीको शौचालय छैन। पूर्ण सरसफाइको दृष्टिकोणले नगरपालिका ९७.४९ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले स्थानीय तहको प्रतिवद्धताको कमीका कारण जिल्ला सदरमुकाम खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको बताए।

‘प्रतिवद्धताको कमीकै कारण धुलिखेल नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न नसकेको हो ।’ काफ्लेले भने, ‘चर्पी निर्माणको काम भनेको स्वयंसेवी काम भएको र त्यसमा सरकारले लगानी नगर्ने भएकाले पनि काम नभएको हुनसक्छ।’ शहरमा प्रवुद्ध व्यक्तिहरु बस्ने भए पनि आफै गर्नुपर्छ भन्ने भावना र प्रतिवद्धताको कमी रहेको उनको भनाइ छ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले ३–४ महिनाभित्रै नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने बताउँछन् । ‘‘नगरपालिकाभित्र २ सय ४७ वटा घरमा शौचालय बनाउन बाँकी रहेको र त्यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर काम अगाडि बढिसकेकोले छ।’ उनले भने, ‘‘तीमध्ये १ सय वटा जति बनिसकेका छन् ।’

जिल्लाको चार गाउँपालिका तेमाल, रोशी, भुम्लु र चौरीदेउराली तथा मण्डन देउपुर नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ। बाँकी पाँच वटा नगरपालिका र तीन वटा गाउँपालिका घोषणा हुन बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। बाँकी रहेको नगरपालिकामध्ये धुलिखेल एक हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।