मण्डनदेउपुर । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकालाई चीन सरकारले एम्बुलेन्स सहयोग गरेको छ ।

नगर प्रमुख टोकबहादुर वाईवाको सकृयतामा नेपाल चीन हिमालय मैत्री समाज मार्फत चीन सरकारले नगरपालिकालाई शनिबार एम्बुलेन्स सहयोग गरेको हो ।

काभ्रेको कान्छो समेत रहेको मन्डनदेउपुर नगरपालिकाले एम्बुलेन्स आवश्यकताको माग गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हरेक नागरिकलाई आधारभुत रुपमा स्वास्थ्य सेवा दिनको लागि स्वास्थ्य क्षेत्रलाई सुधार गरिन लागिएको बताए । मन्त्री यादवले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल विस्तार गरिने बताए । स्थानीय तहमा अस्पताल आफैले बनाउने गृहकार्य समेत सुरु गरेको मन्त्री यादवले बताए ।

एम्बुलेन्स हस्तान्तरणमा बोल्दै नेपालका लागि चीनकी राजदुत यु होङ्गले नेपाल सरकारलाई स्वास्थ्य लगायतका अन्य क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार रहेको बताईन् । मण्डन देउपुर नगरपालिका प्रमुख वाईवाले एम्बुलेन्सको सदुपयोग हुने बताए । मण्डन देउपुर नगरपालिकामा प्राप्त भएको यो पहिलो एम्बुलेन्स हो । यस अघि नेपाल रेडक्रस सोसाईटीले महादेवस्थानमा, उपस्वास्थ्यचौकी गैरिबिसौनावाट एम्बुलेन्स सेवा दिदै आएको थियो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।