काभ्रे । तीनदिन अघि पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (विप्लब)का दुई जना नेतालाई प्रहरीले काभ्रेमा सार्वजनिक गरेको छ ।

आज (आइतबार) जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी रविराज खड्काले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ हुनेहरुमा नेकपाका पोलिट ब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जिवन्त) रहेका छन् । एसपी खड्काका अनुसार उनीहरुले नेपाली काँग्रेसका नमोबुद्ध नगरपालिकाका नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको आरोपमा पक्राउ परेका हुन् ।

संगठीत अपराध ऐन अन्तर्गत मुद्दा चलाउन लागेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिए । कहिले र कुन अवस्थामा पक्राउ गरेका हुन् त्यो भने भन्न नमिल्ने एसपी खड्काले बताए । ‘अनुसन्धानकै क्रममा रहेकोले उनीहरु कहाँ र कहिले पक्राउ गरेको हो भन्न मिल्दैन ।’ उनले भने, ‘उनीहरु कुन राजनीतिक दलसँग सम्बद्ध हो भन्ने कुरा हामीलाई थाहा छैन ।’

नेकपाका नेताद्वय धमला र कार्कीलाई साउन १० गते नै पक्राउ गरेर बालाजु प्रहरी चौकीमा राखिएको थियो । उनीहरुलाई काठमाडौं उपत्यका आउदै गरेको बेला थानकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेकपाका एक नेताले आफ्नो पार्टीका दुई पोलिटब्युरो सदस्यलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरि बेपत्ता बनाएको आरोप लगाएका थिए । उनीहरुको अवस्थाबारे प्रशासनले कुनै जानकारी नै नगराएको भन्दै बिनाकारण आस्थाकै आधारमा पक्राउ गरिएका दुई नेतालाई अबिलम्ब रिहाइको माग गरेका छन् । यस अघि पक्राउ गरिएका दुई पोलिट ब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।