काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाको तेस्रो गाउँसभामा भएको विवाद मिलेको छ ।

आज (आईतबार) बसेको गाउँकार्यपालिकाको बैठकले लिएको निर्णयहरुकोबारेमा तेमाल अनलाईनसँग कुरा गर्दै तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले विवाद मिलिसकेको जानकारी दिएका छन् ।

तेमाल गाउँकार्यपालिकाले गरेको निर्णय र सहमति विपरित उपाध्यक्ष दुर्गामाया तामाङले गाउँसभामा बजेट प्रस्तुत गरेपछि बहुमत सदस्यहरुले सभा बहिष्कार गरेका थिए ।

करिब एक महिना लामो विवाद आजको बैठकबाट टुंगिएको र अब एकताबद्ध भएर तेमालको विकास गर्ने प्रवक्ता मोक्तानले बताए ।

‘अब गाउँकार्यपालिकामा कुनै पनि खालको विवाद छैन । सबै कुरामा एकमतले सहमति भएको छ ।’ मोक्तानले भने, ‘अब तेमालको सर्वाङ्गीन विकासको लागि हामी अगाडि बढ्छौं ।’

बैठकमा तेस्रो गाउँसभाको समिक्षा र सभाले गरेको निर्णयहरुको कार्यन्वय गर्ने सम्बन्धमा छलफल भएको मोक्तानले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।