काठमाडौं । विभिन्न तामाङ संघ–संस्थाहरूको सहभागितामा काठमाडौंमा ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ हुने भएको छ ।
महोत्सव भदौं ६ र ७ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । तामाङ पहिचान दिवसको अवसरमा यो महोत्सव हुने भएको हो ।

महोत्सवमा तामाङसँग सम्बन्धित ईतिहास, राजनीति, आर्थिक विकास, शिक्षा र तामाङ महिला लगायतका महत्वपूर्ण विषयहरूकोबारेमा बिज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गर्दै अन्तरक्रिया र बहस कार्यक्रम समेत हुने मुल आयोजक समितिले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

त्यसैगरि महोत्सवमा तामाङ पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी, तामाङ संस्कृति तथा भेषभुषाको प्रदर्शनी, तामाङ कला प्रदर्शनी, फोटो प्रदर्शनी हुनेछ । यसका साथै महोत्सवमा तामाङ परिकारहरू समेत उपलब्ध हुनेछ ।

यस अघि नै जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जनको संयोजकत्बमा मुल आयोजक समिति निर्माण गरिसकेको भाषाविद् अमृत योञ्जनले तेमाल अनलाईनको जिज्ञासामा बताएका छन् ।

‘महोत्सवले बहस, छलफल, प्रस्तुति मार्फत ज्ञान र सूचनाको खोजी र त्यस्ता जानकारी सबै माझ पु¥याउने प्रयास गर्नेछौं ।’ भाषाविद योञ्जनले भने, ‘तामाङ सम्बन्धित विभिन्न विषयहरुमा थप प्रकाश पार्ने प्रयास, तामाङ पुस्तक, संस्कृति, भेषभुषा आदिबारे जानकारी मुलक प्रदर्शनी, समुदाय, संस्था, व्यक्तित्वहरु बीच समन्वयकारी वातावरण सिर्जना गर्ने, युवाहरुमा संस्कृतिबारे जानकारी, विभिन्न विषय मिडियामार्फत बाहिर ल्याउने प्रयत्न हो यो ।’

यो कार्यक्रम २०७२ बाट सुरू गर्दै आएको छ । महोत्सवमा विभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरिने आयोजकले जानकारी दिएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।