मकवानपुर । भर्खरै सिन्धुपाल्चोकबाट मकवानपुर सरुवा भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको हेटौडामा भव्य स्वागत भएको छ । सोमबार हेटौंडा आइपुगेका अधिकारी तामाङको जिल्ला प्रशासनका कर्मचारीले सिडियो तामाङको स्वागत गरेका हुन् ।
वागतसँगै सोमबारबाटै सिडियो तामाङले मकवानपुरको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन् । जिल्ला प्रशासनका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तव, गुणराजप्रसाद न्यौपाने सहितका कर्मचारीले सिडियो तामाङको स्वागत गरेका थिए ।
स्वागतपछि तामाङले प्रशासनका कर्मचारीलाई सेवाग्राहीलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन् । उनले जिल्ला प्रशासनमा सेवाग्राहीको काममा ढिलासुस्ती र अनावश्यक झण्झटमा पार्ने काम नगर्न कर्मचारीलाई निर्देशन दिए ।
कर्मचारीको स्वागत लगतै सिडियो तामाङले जिल्ला प्रहरी प्रमुख एस्पी बुद्धिराज गुरुङलाई भेटेका छन् । उनले जिल्लाको शान्तिसुरक्षाको अवस्थाका बारेमा एस्पी गुरुङसँग जानकारी लिएका थिए । शान्तिसुरक्षालाई चुस्त राख्न एस्पी गुरुङलाई उनले निर्देशन समेत दिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङ आएपनि सहायक प्रमुख जिल्ला अधिकारी भने मकवानपुरमा एक महिनाभन्दा बढी समयदेखि खाली रहेको छ । सहायक सिडियोमा गृहमन्त्रालयले सिद्धराज जोशीलाई खटाएपनि उनी अझै आइनपुगेको प्रशासनका कर्मचारीले जानकारी दिए ।
यसअघि मकवानपुर जिल्लामा कार्यरत् सिडियो चक्रबहादुर बुढाको कास्कीमा सरुवा भएपछि तामाङ मकवानपुर आएका हुन् ।





















