काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष पनि ४ जना पत्रकारहरु पुरस्कृत हुने भएको छ । पुरस्कृत हुने ४ जना पत्रकारहरु समेत फोनिजले छनौट गरेको छ ।

मंगलबार फोनिजका महासचिव मनोज घर्तीमगरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन् ।
‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पाउने पत्रकारहरुमा उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुने भएको मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको छ ।

पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ४०,०००। (चालिस हजार हरुपैयाँ) रहेको छ ।

स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिनेछ । फोनिजका पूर्व अध्यक्ष खिम घले संयोजक रहनुभएको छनौट समितिमा परिष्ठ पत्रकार टिकाराम राई र अनिता गुरुङ सदस्य थिए ।

परस्कृत हुने पत्रकारहरुको छोटो परिचय

उजिर मगर

२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् ।

भैरव आङ्ला

२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनको योगदान छ ।

छेटु शेर्पा

२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गरेका छेटु शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् ।

विमला चौधरी

२०६२ सालदेखि पत्रकारीता सुरु गरेकी विमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छिन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आएकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।