काठमाडौं । नेपाल तामाङ घेदुङ र नेवाः देय दबूले शुक्रबार (आज) आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागीहरुले प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ हुनुपर्ने माग गरेका छन् ।
‘नेवाः ताम्सालिङ प्रदेश नामाकरण र आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रममा उक्त माग गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा संघीय सांसद हितबहादुर तामाङले ३ नं. प्रदेशको सबैलाई न्याय हुने नाम नेवाः ताम्सालिङ नै रहेको स्पष्ट पारे । साविकको माओवादीले मुद्धा नछोडे पनि समाउन भने नसकेको तामाङले आरोप लगाए ।
कार्याक्रमको प्रमुख अतिथि समेत रहेका आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगतबहादुर बरामले सरकारले आदिवासी जनजातिको सम्पूर्ण अधिकार खोसेको आरोप लगाए ।

‘यो सरकारले आदिवासी जनजातिको पहिचान त दिएन नै हिजो दिएको अधिकार समेत सबै खोसेको छ ।’ बरामले भने, ‘यसको लागि अब काठमाडौमा बसेर मात्रै हुँदैन । अब मैदानमा ओर्लनु पर्छ, जिल्लामा जानुपर्छ, गाउँमा झर्नुपर्छ ।’
आफ्नो समुदायलाई छुट्याएको कोटाबाट संघ र प्रदेश संसदमा प्रतिनिधित्व गरेका सांसदहरुले आज आदिवासी जनजातिको मुद्दाको पक्षमा नबोलेका आरोप बारामले लगाए ।
४ नं. प्रदेशलाई गण्डकी प्रदेश घोषणा गरेकोमा कालो दिनको रुपमा एक दिन बन्द गरेको बताउँदै अध्यक्ष बरामले ३ नं. प्रदेशमा पनि त्यस्तै हुनसक्ने चेतावनी दिए ।
त्यसैगरि नेकपाका केन्द्रिय नेता समेत रहेको नेपाल आदिवासी जनजाति महासंघका पूर्ण महासचिव परशुराम तामाङले इतिहासले स्थापित गरेको पहिचान नमान्ने हो भने भोलीको द्वन्द्व कल्पना गर्न नसकिने खालको हुने चेतावनी दिए । ‘त्यो अवस्था आयो भने हाम्रो त केही जादैन तर सत्ता बर्गले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।’ तामाङको चेतावनी थियो ।
‘हामीले भनेको नेवाः ताम्सालिङ बहु पहिचान हो । जुन पूर्व एमालेको मुद्धा हो भने माओवादीको पनि हो । आज संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनमा लान हिच्किचाउँदा संविधान काम नलाग्ने भएको छ ।’ तामाङले भने, ‘संविधान संशोधन गर्नैपर्ने भएको छ । नत्र गलत सोचका साथ बनाएको संविधानको कारण संघीयता असफल हुँदैछ ।’
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सीताराम तामाङले सडक आन्दोलनलाई अघि बढाउन सकेन भने माग पुरा नहुने बताउँदै आज जो सत्तामा पुगेकाहरु पनिसबै सडक आन्दोलनबाट नै गएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता दिलमान पाख्रीनले आफूहरुको माग पूरा गराउन २, ४ जना शहिद बन्न तयार हुनुपर्नेमा जोड दिए । ‘ ढिला भइसक्यो, छिटो उत्रिनु प¥यो ।’ नेता पाख्रीनले भने, ‘मलाई कारवाही गरोस् पार्टीले, म तयार छु । कारवाही देखि डराएर हुँदैन । यसको लागि पार्टीभन्दा माथि उठ्नुपर्छ ।’
कार्यक्रममा आदिवासी जनजाति महासंघका संस्थापक सदस्य तथा पूर्व महासचिव परशुराम तामाङ, संघीय संसद सदस्य हितबहादुर तामाङ, राष्ट्रिय सभा सदस्य युटल लामा, पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिन, राजनीतिज्ञ सीताराम तामाङ, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लालबहादुर तामाङ, नेवाः ताम्सालिङ समन्वय समितिका सल्लाहकार राजभाई जकमी, जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जन, घेदुङका पूर्व अध्यक्ष कुमार योन्जन, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोले तामाङ, बरिष्ठ संगीतकार प्रदिप बोम्जन लगायतको उपस्थिति रहेको थियो ।
















