काभ्रे । नेपाली कम्युनिष्ट आन्दोलनमा काभ्रेबाट शसक्त भूमिका खेलेका पुराना वामपन्थी नेता गणेशदाश उलकको ७९ वर्षको उमेरमा निधन भएको छ ।
पञ्चायती व्यवस्था ढाल्नका लागि भएको २०४६ सालको जनआन्दोलन हाँक्ने संयुक्त वाममोर्चाको काभ्रे संयोजक रहेका उनी तत्कालिन नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य सहित एमालेको महत्वपूर्ण जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने वामयोद्धा हुन् ।
काभ्रे जिल्लाको बामपंथी आन्दोलनका संस्थापकहरू मध्येका एक तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सल्लाहकार कामिटीका सदस्य न्याय र जनताको पक्षमा भए गरेका हरेक सघर्षको अग्रणी मोर्चामा उभिएर संघर्ष गर्ने उलकको निधनबाट काभ्रेली वाम आन्दोलनले एक जुझारु अभिभावकलाई गुमाएको छ ।

उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । ललितपुर स्थित हात्तीबनमा रहेको क्यानसर हस्पिटलको आईसियू कक्षमा उनको उपचार प्रयास भएको थियो । जनताका लागि निरङ्कुश पञ्चायती शासकलाई जित्न सकेका उनले आफ्नो निजी जिवनका लागि गरेको संघर्ष भने असफल भए । अन्तत क्यान्सरसँग उनको हार भयो ।
उनलाई २०१३ सालमा ग्राम विकास कार्यकर्ताको रुपमा कार्यरत रहेका बेला पञ्चायती शासकले कम्युनिस्टसँग झुकाव राखेको आरोपमा निश्काशित गरिएको थियो । उनले २०१५ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०१६ सालको नेकपाको दरभंगा प्लेनममा प्रतिनिधि भएर पुग्ने उनी पुराना काभ्रेली वाम नेता समेत हुन् । प्लेनमसँगै भएको पार्टी विभाजनपछि भने उनी मानन्धर समूहको नेकपा प्रजातान्त्रिकमा समावेश भएका थिए । उक्त समूहको उनी काभ्रे सचिव र अञ्चल कमिटीको इन्चार्ज साथै केन्द्रीय सदस्य समेत रहेका थिए ।
मानन्धर समूहको पञ्चायतलाई उपयोग गर्ने नीति अनुरुप उनी चुनावमा सहभागी भएर तत्कालीन खोपासी गाउँ पञ्चायतको प्रधानपञ्च समेत भएका थिए । पञ्चायती संगठनको किसान संघको सभापति भएर उनले जिल्ला पञ्चायत सदस्यको समेत भूमिका निर्वाह गरेका थिए । खोपासीमा रहेको श्रीराम माविमा उनले ६ महिना शिक्षण समेत गरी सेवा गरेका छन् ।
उनी नेपाल रेडक्रस सोसाइटी काभ्रेको आजिवन सदस्य रहेका थिए । काभ्रेमा रहेको विभिन्न संघ संस्थामा उनको संलग्नता रहेको थियो । खोपासीको वुद्धविहार बनेपाको चन्द्रकृति विहारको उनी सदस्य रहेका थिए । त्यस्तै बनेपामा गठन गरिएको समकालीन मित्र समूहको उनी अध्यक्ष रहेका थिए । क्यान्सरले समात्दा समेत उनी सामाजिक गतिविधिमा सक्रिय नै देखिन्थे । युनेस्को क्लवको केन्द्रीय सदस्य रहेका उनले बालविकास आदर्श मावि खोपासी र श्रीराम मावि खोपासीको विद्यालय व्यवस्थापन समितिमा समेत रहेर शैक्षिक विकासमा समेत योगदान पु¥याएका थिए ।
उनको निधनपछि हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा बनेपा–७ मा रहेको उनको निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । श्रद्धाञ्जली सभामा नेकपाका टोकबहादुर वाईवा, अशोक व्याञ्जु, नारायण पाण्डे, रामहरी सुवेदी, लालध्वल, छिन्ताङ, सांसदहरु लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, कुमार थापा, कुमार भट्टराई, राजन भूर्तेल, इन्द्र तामाङ लगायत काभ्रेली वापन्थीहरुको उल्लेख उपस्थिति रहेको थियो । उलकका ३ छोरी १ छोरा र श्रीमती छन् । श्रद्धाञ्जलीसभालाई नेकपाका नेता रघुबर प्रधानले सञ्चाल गरेका थिए ।
















