काठमाडौं । चर्चित डन तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका काभ्रेका गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

उनलाई एक वर्ष कैद र १ करोड ४० लाख ५० हजार बराबरको विगो बापतको सम्पत्ति जफत हुने विशेष अदालतले फैसला गरेको छ ।

उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।

बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैदको फैसला सुनाएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय दिएको हो। अन्य चार जनाले अदालतबाट सफाइ पाइसकेका छन्।

विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको दावी गरिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

हाल उनी हातहतियार खरखजाना मुद्दामा डिल्लीबजार कारागारमा छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।