काभ्रे । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले अबको लडाईं गरिबीको विरुद्ध हुने बताएका छन् ।

धुलिखेलमा प्रारम्भ सामाजिक संस्थाको पहलमा सिंगापुर रेडक्रस सिंगापुरबाट सहयोग प्राप्त प्राथमिक स्वास्थ्य सामग्री वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँसकोटाले उक्त कुरा बताएका हुन् । ‘अब हाम्रो अरु लडाईं सकीसकेको छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘अब हामीले लड्नु छ भने गरिबीको विरुद्ध लड्नुछ । समृद्धिको लागि लड्नुछ ।’
हामी कसरी अधिनायकवादी ?
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले जनताको अभिमतको प्रयोग गर्दा काँग्रेसले तानाशाही वा अधिनायकवादी देखेको आरोप लगाए । ‘बिगतका सरकारले गरेको सकारात्मक कामको यो सरकारले निरन्तरता दिएको छ ।’ उनले भने, ‘जनताको अभिमतलाई प्रयोग गर्दा काँग्रेसले अधिनायकवादी वा तानाशाही दिेख्छ भने केही छैन ।’

अर्को वर्ष डाँडापारीसँग सम्बन्ध विच्छेत हुन्न
मन्त्री बाँस्कोटाले काभ्रे जिल्लाको डाँडापारी क्षेत्रलाई सबैले कर्णालीको संज्ञा दिएको प्रति आपत्ति जनाए । बर्खमा जिल्लाको सदरमुकाम र डाँडापारीको सम्बन्ध विच्छेत हुँर्द आएकोमा अब अन्त्य हुने उनले बताए । ‘हाम्रो साधान स्रोत भरपुर उपयोग गर्नुपर्ने हुन्छ । गर्छौं पनि ।’ उनले थपे, ‘अब कर्णाली कर्णाली जस्तो रहँदैन । डाँडापारी बर्खमा सम्बन्ध बिच्छेद हँदै आएको छ । अर्को बर्ष देखि हेर्नुहोस् यो अन्त्य हुन्छ । ढुक्क हुनुहोस् ।’
भदौ १० गतेपछि काठमाडौंको सडक खल्टो हुनेछैन
बाँस्कोटाले काठमाडौंका सडकहरुमा भएको खल्टो भदौ १० गतेपछि सबै पुरिसक्ने बताए । ‘काठमाडौंमा धेरै समयदेखि सडक विग्रेको छ । जताततै खल्टो छ ।’ उनले भने, ‘भदौ १० गतेपछि काठमाडौं जानुहोस् एउटा पनि खल्टो देख्नुभयो भने मलाई भन्नुहोस् ।’
आफ्नो देश बनाउन हामी आफैले पनि लगानी गर्नुपर्नेमा जोड दिंदै उनले अरुको मुख मात्र नताक्न अनुरोध गरे ।
अब अन्तिम महिनामा रकम निकासा हुन्न

अर्थ सचिव राजन खनालले अन्तिम महिनामा रकम निकासा हुने काम बन्द गरेको बताए । ‘विकास निर्माणका काम भए पनि नभएपनि हतार हतारमा अन्तिम महिनामा रकम निकासा गर्ने हिजोको परिपाटिको अन्त्य गरेका छौं ।’ अर्थ सचिव खनालले भने, ‘अन्तिम महिनामा पैसा निकासा गर्ने काम बन्द हुन्छ । सबै बजेट स्थानीय तहमा पुगिसकेको छ ।’
स्थानीय तह जवाफदेही, बिकास गर्ने, निकास दिने पनि निकाय भएकोले सबै काम तलैबाट हुने खनालले बताए ।
डाँडापारीलाई बिशेष जोडदिन अनुरोध
कार्यक्रमलाई सम्बोन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ (लालध्वज)ले सहरी क्षेत्र भन्दा पनि प्राथमिक उपचारका सामग्रीहरु डाँडापारी क्षेत्रका जनताको लागि अति आबश्यक रहेको बताए ।

त्यसैगरि नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्य, मण्डन देउपुर नगरपालिकाका प्रमुख तथा नेकपाका नेता टोकबहादुर वाईबा लगायतले पनि शहरमा वा नगरमा भन्दा डाँडापारी वा कोशीपारी क्षेत्रका जनतालाई यस्तो सामग्रीहरुको खाँचो रहेको चर्चा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकरी कृष्णबहादुर राउतले दिगो बिकासमा बाधा पुग्ने खालको बिपत आइपरेको बताए ।
कार्यक्रममा हास्यकलाकार हरिबंश आचार्यले चलचित्र क्षेत्रमा मन्त्री बाँस्कोटाले गरेको कामको प्रसंसा गरेका थिए ।
कार्यक्रम प्रारम्भ सामाजिक संस्थाका म्यनेजिङ डाइरेक्टर बद्री तिमल्सिनाको अध्यक्षतामा तथा प्रत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाको सञ्चालनमा भएको थियो ।
















