धुलिखेल । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेस आफू सत्तामै रहेको भ्रम पालिरहेको आरोप लगाएका छन् ।

शनिबार (आज) नेपाल सुनचाँदी व्यवसायी संघ, काभ्रेको साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त आरोप लगाएका हुन् ।
‘प्रतिपक्षलाई हामी सम्मान गर्छौं । तर २२ बर्षमा काँग्रेसले केही गरेनन् सयदिनमा कसरी सक्छ ?’ मन्त्री बाँस्कोटाले भने, ‘काँग्रेसले आफू सत्तामै रहेको भ्रम पालिरहेको छ । यो भ्रम नपाल्नुहोस् ।’ मुलुकमा राजतन्त्रको अन्त्य भएपनि राजा भको जस्तै गरि सम्बोधन गर्नेको कमी नरहेको बताउँदै उनले काँग्रेसले पनि त्यस्तै सोचेको बताए ।

ग्राहकलाई किन झुक्याउने ?
सुन व्यापारीहरुले ग्राहकलाई २४ क्यारेट छ भनि बेचेकोमा मन्त्री बाँस्कोटाले व्यवसायीसँग ग्रााहकलाई नझुक्याउन अनुरोध गरे ।
‘२४ क्यारेट छ भनेर ग्राहकसँग किन झुट बोल्ने ?’ मन्त्री बाँस्कोटाले भने, ‘जति छ त्यति नै भनेर बेचौं न । लगाएर हिड्न हुने गोजिमा हालेर हिड्न हुन्न भनेका छैनौ । बिग्रेको मति भो भने अनेक गर्छ्न् ।’

काभ्रेलाई लगानीको क्षेत्र बनाउछौं
सम्बोधनकै क्रममा मन्त्री बाँस्कोटाले काभ्रेलाई लगानीको क्षेत्र बनाउने योजना रहेको बताए । ‘सरकारले काभ्रेलाई लगानीको क्षेत्र बनाउने योजना बनाई नै सकेको छ ।’ उनले भने, ‘यो कामको शुरुवात भईनै सकेको छ ।’
लौ हेर्नुहोस् भिडियोः
काभ्रेलाई लगानीको क्षेत्र यसरी बनाउने
काभ्रेलाई लगानीको क्षेत्र बनाउन मन्त्री बाँस्कोटाले आइटी पार्कलाई कम्युनिटी प्रिन्टीङ प्रेसको स्थापना गर्ने बताए । नेपालले विभिन्न सामग्री छाप्न विदेश ताक्नुपर्ने परीपाटीको अन्त्य गर्न यसको जरुरत रहेकोे उनको दाबी छ ।

त्यसैगरि सुनकोसी परियोजना शुरु भएको बताउँदै उनले यसको लागि ५०।५५ करोड बजेट छुट्याएको बताए । ‘आन्तरिक विमास्थल पनि स्थापना हुने निश्चित भइसकेको छ ।’ उनले भने, ‘भक्तपुर–पाँचखाल शुरुङमार्ग बनाउने हो । शुरु भो । नभए मलाई भन्नुहोस् ।’ काभ्रेमा ९० दिनको लागि पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँ पनि स्थापना हुने उनले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ (बमध्वज) प्रादेशिक संसदहरु चन्द्र लामा, रत्न ढकाल, बसुन्धारा हुमागाईं, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष मणिकरत्न शाक्य लगायतको उपस्थिति रहेका थिए ।

















