अञ्जली तामाङ
काभ्रे । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड)लाई जिल्ला प्रहारी कार्यालय काभ्रेको हिरासतमा राखिएको छ ।
गत साउन २२ गते चन्दा असुलीको अभियोगमा पक्राउ गरिएको कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार फेरि पक्राउ गरिएको हो ।
जिल्ला प्रहारी कार्यालय काभ्रेका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लु साईन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका नेता प्रकाण्डलाई संगठित अपराध र आगजनी मुद्धामा आज (आईतबार) जिल्ला अदालत काभ्रेमा म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















