काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज (आइतबार) थप अनुसन्धानको लागि जिल्ला अदालत काभ्रेले ३ दिनको म्याद थप गरिएको छ ।
शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः प्रहरीले पक्राउ गरि काभ्रे ल्याएपछि उनलाई थप अनुसन्धानका लागि भन्दै प्रहरीले ७ दिनको म्याद थपको लागि अनुरोध गरेपनि अदालतले भने ३ दिनको मात्र म्याद थप गरेको हो ।

यस्तो छ प्रकाण्डलाई आरोप
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ मा रहेको नेपाली काँग्रेसका नेता कुन्साङ लामाले सञ्चालन गरेको ब्लु साइन स्टोन क्रसर उद्योगमा आगजनी गरेको आरोपमा नेता प्रकाण्डलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविराज खड्काले तेमाल अनलाईनलाई बताए ।
गत बैशाख १ गते सो उद्योगका चारवटा ट्रिपर, दुईवटा स्काइभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त हुने गरि आगजनी गरेको थियो । सोही आरोपमा यस अघि प्रहरीले नेकपा (विप्लव) का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाइएको छ । प्रकाण्ड भने प्रहरीको फरार सुचिमा रहेकोमा हाल पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

कानूनी व्यवस्था यस्तो छ
नेता प्रकान्ड, मोहन कार्की र कृष्ण धमलालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दफा ७ अनुसार ३ वर्ष देखि १० वर्षसम्म कैदको व्यवस्था रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थपलियाका अनुसार मानविय क्षति भएमा जन्म कैदसम्मको सजाय भोग्नु पर्ने कानुनी व्यवस्था रहेको छ । उनका अनुसार भोलि (सोमबार) फेरि म्याद थपको लागि जिल्ला अदालत काभ्रेमा पेश गर्ने छ ।
















