काठमाडौं । काठमाडौंमा हुनगइरहेको ‘तेस्रो तामाङ ज्ञान महोत्सव–२०१८’ को तयारी पूरा भएको अयोजकले जानकारी दिएको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको बताएका हुन् ।

काठमाडौंमा रहेका सक्रिय तामाङ संघ–संस्थाहरूको सहभागितामा भदौ ६ र ७ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा हुने सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा ज्ञान, विज्ञान र संस्कृतिसँग सम्बन्धित विभिन्न वस्तु र फोटोहरुको प्रदर्शनीका साथै विभिन्न क्षेत्रका विज्ञहरुबाट गोष्ठीपत्र (कार्यपत्र) प्रस्तुत हुनेछ । पहिलोपल्ट हुन लागेको यस प्रकारको गोष्ठीमा २८ वटा गोष्ठीपत्र प्राप्त भइसकेको आयोजक सदस्य तथा भाषाविद् अमृत योञ्जन तामाङले बताए । गोष्ठीपत्र, सांस्कृतिक प्रदर्शनी र देशका विज्ञहरुको धारणा अभिव्यक्तिबाट तामाङ ज्ञानविज्ञान र कलाकौशल बुझ्न सहज हुनेछ र यस प्रकारको कार्यक्रमबाट तामाङ ज्ञान मात्र नभइ नेपालकै ज्ञानमा अभिवृद्धि हुने र विश्वको कूल ज्ञानमा पनि अभिवुद्धि हुने सम्मेलनमा संयोजक डा. गणेश योञ्जनले बताए ।

महोत्सवमा तामाङ पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी, तामाङ संस्कृति तथा भेषभुषाको प्रदर्शनी, तामाङ कला प्रदर्शनी साथै तामाङ परिकारहरू उपलब्ध हुनेछ । महोत्सवमा विभिन्न पुस्तकहरु विमोचन हुने र विभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरिनेछ ।

यसअघि दुई संस्करण ल्होछारको अवसर पारेर २०७२ र २०७३ को पुषमा बौद्ध स्तुपा परिसरमा गरिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।