गुण्ड नाईके दावा लामाको सहयोगी सत्यमान समातिए

काठमाडौं । सत्तासिन दल निकट रहेका काभ्रेको तेमाल गाउँपालिकाका स्थायी निवासी सत्यमान लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी गुण्डा नाइके दावा लामासँग जोडिदै चर्चामा आउने गरेका व्यक्ति हुन् । दावाको सहयोगीको रुपमा परिचित सत्यमानलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले हिजो मंगलबार राजधानीको ठमेलबाट नियन्त्रणमा लिएको हो ।

सरकारले गुण्डागर्दीमा संलग्नहरुप्रति कठोर बनेपछि ‘क’ श्रेणीका गुण्डा नाइके दावा लामाले काठमाडौं छाडेका थिए । दावाले काठमाडौं छाडेपछि उनको कारोबार काभ्रेली समूहका यिनै सत्यमानले सम्हाल्दै आएका थिए ।

काठमाडौंको शंखमुलमा अस्थायी बसोबास गर्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरीको आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामाको धम्की खाने तामाङहरु पनि काभ्रेको तेमाल निवासीहरु नै हुन् । धम्की पीडितहरुको घरमै गएर सत्यमानले ज्यान गायव बनाउने धम्की दिएको उजुरी परेको प्रहरी श्रोतले बताएको छ ।

पछिल्लो समयमा प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका गुण्डा नाइके दावा लामाको कारोबार सम्हाल्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा उजुरी परेको थियो । प्रहरीमा उजुरी परेपछि गत असार २८ गते प्रहरीले उनलाई पक्राउ ग¥यो । प्रहरीले पक्राउ गरे पनि पूर्व विद्यार्थी नेत्री तथा संघीय सांसद नविना लामाको दबाबमा सत्यमानलाई छाडिएको थियो ।

उच्च निगरानीमा रहेका दावाले आफूमाथि जोखिम रहेको आंकलन गरी काठमाडौं छाडेका थिए । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइन्छ । गत १७ गते आइतबार दावा लामालाई पनि भारतीय प्रहरीले फेक करेन्सी मुद्धामा इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ ।

यसअघि नेपाल प्रहरीले उनलाई रक्तचन्दन तस्करीमा पक्राउ गरेर कारावाही गरेको थियो । दावामाथि बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको प्रहरी श्रोत बताउँछ ।

Comments

comments