तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानद्वारा संयुक्त रूपमा आयोजित “ह्याङला ह्रिमठिम वनभोज कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ ।

कोरियाको सउल, दोङदेमुन, सुवन, ख्वाङजु, आन्सान, मोक्फो, बुसान, डेउ, किमे, मासान, गजेदो लगायत विभिन्न ठाँउबाट नेपालीहरूको ३ सयभन्दा बढीको सहभागितामा जुलाइ २७ र २८ तारिखमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मनोरञ्जनात्मक र तामाङ समुदायको सस्कृतिको प्रचारप्रसारको उद्देश्यले आयोजना गरेको नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले जानकारी दिए । कार्यक्रम भव्यताका साथ सफल भएको छ, सहयोग गर्नुहुने, उपस्थित संघ–संस्थाका अध्यक्ष तथा प्रतिनीधि र सम्पूर्ण सहभागीहरूलाइ अध्यक्ष वाइबाले धन्यवाद ज्ञापन गरेका थिए ।

छुछाङनाम्दोको छुङ्नाम खुम्सानगुनमा रहेको सधेसान ड्रीम रिसोर्टमा भएको उक्त वनभोज कार्यक्रममा सहभागीहरुले प्राकृतिक दृश्यावलोकन र चिसो पानीमा पौडीको आनन्द लिएका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन गर्ने अवसर पाएका थिए ।

अनौपचारिक सांस्कृतिक कार्यक्रमको क्रममा तामाङ समाज ख्याङ्सङनाम्दोको तर्फबाट तामाङ समाजमा प्रचलित चारदामको प्रस्तुति पनि गरेका थिए । तामाङ समाजमा बिवाहा हुने बेलामा माइती पक्षले आफ्नो छोरी/चेलीलाई केटा पक्षको अभिभावकको रोहवरमा जिम्मा लगाउदाको परम्परागत विधि नै चारदम हो । यस विधिको एउटा महत्त्वपूर्ण पक्ष भनेको आफ्नो चेलीको भरण पोषण गर्ने जिम्मा केटा पक्षलाई दिएपनि चेलीको हड्डीको अधिकार चाहिँ माइती पक्षमै सुरक्षित रहने परम्पराको बारेमा तामाङ समाज ख्यङ्साङ्नाम्दोको उपाध्यक्ष मानकुमार तामाङले जानकारी दिएका थिए । “यसको अर्थ भविस्यमा चेलीको जुनसुकै कारणले मृत्यु भएपनि माइती पक्षको उपस्थिति बिना कसैले केही गर्न नपाइने हो । अर्थात मृत्यु संस्कारको कुनै पनि कार्य हुनु अघि माइती पक्ष उपस्थित भएर उसको अनुमति अनिवार्य हुन्छ ।” तामाङले भने । यदि माइती पक्षलाई मृत्यु अस्वभाविक लागेमा सामाजिक वा न्यायिक छानबिनको माग समेत गर्ने अधिकार सुरक्षित रहने मान्यता रहेको छ ।

तामाङ समुदायको परम्परागत विधि चारदम (तस्बीरः डिबी लामा)

साँस्कृतिक कार्यक्रममा कोरियामै रहेर गीतसंगीत मै क्रियाशील गायकहरु सुर्य रुम्बा ज्ञान लामा र राज ब्लोन लगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने सन्जिका लोप्चन, सुजता लामा तामाङ, जुलिफा तामाङ मनिराज ग्लान लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

तामाङ सेलोमा नृत्य गर्दै कलाकारहरूः सन्जिका लोप्चन, जुलिफा तामाङ, सुजाता लामा तामाङ (बाँयाबाट क्रमश) तस्बीरः डिबी लामा

त्यस्तै वनभोज कार्यक्रममा विभिन्न खेलहरु खेलेर सहभागीहरुले मनोरञ्जनसमेत लिएका थिए । मादलको तालमा म्युजिकल चियर, तातो आलु, एक खुट्टे दौड लगायतको खेलमा विजेताहरुलाई पुरस्कारको समेत ब्यवस्था गरेको थियो ।

तातो अालु खेलका बिजेताहरू दायाँबाट क्रमशः प्रथमः रूबिना शाक्य, दितियः अच्युत तिमिल्सिना, तृतियःराज लिम्बु, चाैथोः सन्तलाल तामाङ, पाचाैंः सोनाम शेर्पा, छैठाैंः पेमा ठिले
तातो अालु खेलका बिजेताहरू दायाँबाट क्रमशः प्रथमः रूबिना शाक्य, दितियः अच्युत तिमिल्सिना, तृतियःराज लिम्बु, चाैथोः सन्तलाल तामाङ, पाचाैंः सोनाम शेर्पा, छैठाैंः पेमा ठिले (तस्बीरः डिबी लामा)

नेपाल तामाङ संघ दक्षिण कारिएको अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्व र जनजाति महासंघ कोरियाको अध युगेल तेन्डुप शेर्पाको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा छुसकमा हुने विभिन्न कार्यक्रमहरुको पोस्टर तथा ब्यानर समेत सार्वजनिक गरेका थिए । त्यस्तै तामाङ समाज ख्याङ्साङ्नाम्दोको कार्यवाहक अध्यक्ष सुजित घिसिङ, एनसिसिको अध्यक्ष अन्जु केसी लगायत जातीय तथा क्षेत्रीय संघ–संस्थाको प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

Comments

comments