तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । असोज ३ गतेबाट नेपालभर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रियल फ्रेन्डस ग्रुपद्वारा प्रदर्शन हाउसफुलका साथ दुई शो सम्पन्न भएको छ । कोरियामा नेपाली चलचित्र प्रदर्शनमा यसरी हाउसफुलका साथ एकै दिन दुई ओटा शो हुनुमा कबड्डि ३ ले रेकर्ड कायम गरेको छ ।
लगभग चार सय सिट क्षमता भएको हलमा १ बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि ५ बजेसम्म गरी दुई शो प्रदर्शन गरेको थियो । दुईटै शोमा दर्शकको हाउसफूल रहेको थियो ।
अक्टोबर ६ आइतबारका दिन दोङदेमुन स्थित छुङ्नो खुमिन विग्वानमा निर्धारित समय दिउँसो १ बजे भन्दा अगाडि नै दर्शकहरुको बाक्लो भीड रहेको थियो । आजको सउल शो लगायत अन्य ६ ठाउँमा प्रदर्शनको तयारी रहेका छन् ।
चलचित्र प्रदर्शनबाट उठेको रकम अनाथ बालबालिका सहयोगार्थ रहने छ । सामाजिक सञ्जाल फेसबूकमा सक्रिय यो ग्रुपले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको रिपोर्ट अनुसार, चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । योसँगै हालसम्म यो बर्षकै सर्वाधिक व्यापार गर्ने चलचित्र समेत ‘कबड्डी कबड्डी कबड्डी’ बनेको छ ।