काठमाण्डौ । आज विशेष गरि सबैभन्दा धेरै विद्युतको माग हुने दिन । तिहार भरि अरु बेलभन्दा बढी नै माग भएपनि आज विशेष दिन अर्थात लक्ष्मी पूजको दिन सबैभन्दा बढी विद्युत चाहिने दिन हो ।
आजको दिन कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याको समाधानको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहिको टोली तयारी अवस्थामा बसेकाछन् । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आज वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ । यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ ।
‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आग्रह गर्छु ।’, शनिवारको दिन पनि कार्यालयको काममा व्यस्त कुलमानले भने, ‘प्राविधिक समस्या आयो भने हाम्रो टोली स्ट्याण्डबाइ छ, धेरैबेर बत्ति जाँदैन ।’
घिसिङका अनुसार आइतबार लक्ष्मीपूजाको दिन उच्च माग १३ सय मेगावाट सम्म पुग्ने सम्भावना छ । १ हजार मेगावाट जति देशमै उत्पादन भएकाले बेलुकीको १–३ घन्टा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात हुने सम्भावना छ ।
‘हामी देशमै उत्पादन भएको बिजुली व्यवस्थापन गरेर यो तिहार उम्काउने प्रयासमा छौँ, तर अपुग हुने देखिएमा भारतबाट आयात हुन्छ, बिजुली अपुग हुँदैन ।’, घिसिङले भने ।
आज कार्यकारी निर्देशक घिसिङ आफैँ स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरको बिजुलीको माग र आपूर्ति अवलोकन गर्ने कार्यक्रम छ । यस्तै उनले बढी माग हुने वितरण केन्द्रको पनि अवलोकन गर्नेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।