मिलन दोङ तामाङ ✍️
जोहोर बहरु, मलेसिया –रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा यही २८ सेप्टेम्बर २०२५ आइतबारका दिन दशैं विशेष कार्यक्रम २०८२ तथा क्षेत्रीय समिति जोहोरको पहिलो वार्षिक उत्सव समारोह भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम बिहान १०:०० बजे जोहोर स्थित Jo Hotel Johor Bahru मा भएको थियो ।
सस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो र, विशिष्ट अतिथिमा राजु योन्जन तामाङ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा मलेसियाका स्थानीय नागरिकहरूको पनि सहभागिता रहेको थियो, जसले कार्यक्रममा थप उत्साह र आकर्षण जोडेका थिए।
यस अवसरमा नेपाल तामाङ घेदुङ क्षेत्रीय जोहोर समितिले तामाङ समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘विवाह संस्कार’ विषयमा नाटकीय प्रस्तुति दिएका थिए। साथै, गायन, नृत्य र हास्य प्रस्तुति हरुले कार्यक्रममा रमाइलोपन थपेका थिए।कार्यक्रमको उद्देश्य मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृति संरक्षण, सहकार्य र उत्सव मूलक वातावरण निर्माण गर्नु रहेको थियो।
कार्यक्रममा सस्थाका विभिन्न कार्यसम्पादनको प्रतिबेदन प्रस्तुत, रोल्पा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शन तथा मौलिक बाजागाजा सहितको सांस्कृतिक कार्यक्रम,सहयोगी तथा अथिति हरुको सम्मान साथै दशै बिशेष कार्यक्रम भएकै कारणले दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको सस्थाका अध्यक्ष दिपेन्द्र बुढामगरले जानकारी दिनुभयो।कार्यक्रम रोल्पाली सेवा समाज मलेसिया र क्षेत्रीय समिति जोहोरको सह–आयोजनामा सम्पन्न भएको थियो।
सम्पूर्ण मलेसिया वासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ।