मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, ६ अक्टोबर – क्लाङ र काजाङस्थित रात्रीकालीन बजार (पसार मलाम्) मा संचालन गरिएको एक अपरेशनमा ९७ जना विदेशी नागरिकहरू पक्राउ परेका छन्।
मलेसिया आप्रवासन विभाग (JIM) का महानिर्देशक दातुक जकारिया शाबानले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार,
उक्त स्थानहरू विशेषगरी अवैध आप्रवासी (PATI) हरूको आश्रय स्थल बन्दै गएको आशङ्कामा छापा मारिएको हो। ती व्यक्तिहरू अस्थायी कामदार भिजिट पास (PLKS) सकिएको अवस्थामै लुकिछिपी बसिरहेका थिए।”उक्त अपरेशन सार्वजनिक गुनासो र एक सातासम्मको गुप्त अनुसन्धानपछि सञ्चालन गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ। अपरेशनको क्रममा कुल ८८४ जना स्थानीय र विदेशी नागरिकहरूलाई जाँच गरिएको थियो। जसमा १८ देखि ६२ वर्ष उमेर समूहका ७२ जना पुरुष र २५ जना महिला गरी ९७ जना विदेशीहरूलाई नियन्त्रणमा लिइएको छ।
उनीहरूविरुद्ध आप्रवासन ऐन १९५९/६३ (ऐन १५५) अन्तर्गतको धारा 6(1)(c) र धारा 15(1)(c) अनुसार विभिन्न उल्लङ्घनको आशङ्कामा अनुसन्धान भइरहेको छ।पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि बेरानाङ आप्रवासन होल्डिङ केन्द्र र KLIA आप्रवासन डिपो लगिएको छ।
JIM ले कुनै पनि विदेशी नागरिकले अनुमति विना व्यवसाय सञ्चालन गर्ने, समयभन्दा बढी बसोबास गर्ने वा पास दुरुपयोग गर्ने कार्यमा शून्य सहनशीलता (zero tolerance) अपनाइने स्पष्ट पारेको छ।