गोकुल कमरेड,
समय कति बलवान छ है ।
रातोपाटीमा रोहित दाहाल सँग गर्नुभएको कुराकानी सुन्ने र हेर्ने मौका पाएँ । अनि फ्ल्यास ब्याकमा पुगें ।
कमरेड, नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा तपाईंले जिताउन चाहेको मान्छे पराजित भएपछि नतिजा आएको २ दिन पश्चात् फोन गरेर “… लाई हराउने काममा त एक्लै लागेकी होस कि सामुहिक रुपमा हो” भनेर प्रश्न सोधेको झल्झली याद आउँछ । साथै सोही अधिवेशनको मतदानका क्रममा लाईन बसेको बेला “सिध्दाईदिने हो, कोपार्दिने हो, थाहा छ नी मैले सिध्याउनु पर्यो भने कसरी सिध्याउँछु भन्ने कुरा..” भनेर सार्वजनिक रूपमा मप्रतिको तपाईंको अभिव्यक्ति सायदै मेरो वरिपरि हुने अन्य कमरेडहरुले भुल्नुहोला । तर मेरो लागि त त्यो कुनै नौलो विषय छँदै थिएन, तपाईंका यस्ता रुखा र कर्कस वाक्यांश त केटाकेटी बेला देखिनै पचाउँदै परिपक्क हुँदै, आफुलाई निखार्दै अनि प्राप्त जिम्मेवारीलाई निर्भिकतापुर्वक सबैखाले असहजतालाई छिचोल्दै यो अवस्था सम्म आईपुगेको हुँ ।
उक्त फोन सम्वादमा मैले भनेको थिएँ नी, “कमरेड! पार्टीको पावरमा हुनुहुन्छ, तपाईंले मेरो जिम्मेवारी खोस्न सक्नुहोला, संगठित सदस्यता खारेज गर्नसक्नुहोला तर देश निकाला गर्न-नागरिकता खोस्न र मलाई एमाले हुनबाट रोक्नसक्नुहुन्न” । आज तपाईंकै मुखबाट यो आशय आउँदा यति कुरा नलेखी रहन सकिन ।
गोकुल कमरेड, पार्टीको बागमती प्रदेश अधिवेशनमा तपाईंकै वरिपरि नाचेर जसरी तपाईंले भनेको उम्मेदवारलाई जिताउन हिंडेजसो गरि भोट अन्त हाल्ने र आन्तरिक रुपमा हराउन लाग्ने हरुनै अझै तपाईंका झन बढी विश्वासिला पात्र छन् र त जिम्मेवारी पनि पाएकै छन् । जसरी केपी कमरेड सहि सूचना र विश्लेषणमा चुक्नु भयो भन्ने भाष्य तपाईंको अन्तर्वार्तामा आएको छ, तपाईंको हकमा पनि कति फरक छैन । एकपटक ठन्डा दिमागले सोच्नुभयो भने तपाईंलाई नै हुने हो । आज पार्टी र नेतृत्व अफ्ट्यारो परिस्थितिमा भएको बेला तपाईंका अभिव्यक्ति कति धेरै कुण्ठाग्रस्त छन् एकपटक आफैंले सुन्नुहोस । तपाईं संग पनि सयौं कार्यकर्ताले चित्त दुखाएका छन्, हेक्का राख्नोस तिनले पनि विष बमन गर्न सक्नेछन् । त्यसैले यो कुन्ठा ओकल्ने समय हैन ।
कमरेड, तपाईं संग जोडिएका अनगिन्ती विषयले जिवनमा धेरै खाले पाठ सिकाएको छ, समयले माग गरेमा क्रमिक रुपमा राख्दै जाउला । तिनैमध्ये आज एउटा प्रसङ्गको याद आयो । खासगरी २०६२/६३/६४ मा भएका विद्यार्थी आन्दोलन, समग्र जनआन्दोलन र संगठन विस्तारको अभियानका क्रममा हाम्रा नामहरु चर्चामा आउन थालेपछि तपाईंको ९ जनाको किचेन क्याबिनेटमा मेरा बारेमा चर्चा चलाएका शब्दहरू आफ्नो परिवारका आमादिदिबहिनी सँग गर्नसक्नुहुन्छ कि सक्नुहुन्न होला? धन्न भगवानले तपाईंको कोखमा छोरी दिएनन र राम्रै भयो । यति हुँदा पनि तपाईं सँग मेरो कुनै आक्रोश छैन, किनकि तपाईंको राजनीतिमा प्रवेश भएदेखीको कुन्डली राम्रैसँग जानकारी राख्ने थोरै मध्य म पनि पर्छु र तपाईंका सबल अनि कमजोर पक्षलाई पनि नजिकबाट हेर्न, बुझ्न र ग्रहण गर्न सक्छु । त्यसकारण पनि तपाईंलाई सक्किने छुट छैन, सच्चिनुस, सुध्रिनुस् ।
अहिले यस्ता कुरा झिक्ने समय त पक्कै थिएन, तथापि तपाईंको अन्तर्वार्ता हेरिसकेपछी यति भन्न सक्छु, पार्टी सुधार्न फलानो सुध्रेर मात्रै हुँदैन । काभ्रे जिल्ला सुध्रिन, एकताबद्ध हुन तपाईं सुध्रिन जरुरी छ । तपाईं सुध्रिनु भएछ भने म हरु सुध्रिन सक्छौं । यसैले पार्टी बनाउने हो, थप मजबुत हुने हो । हामी यसकै पक्षमा छौं । शुभदिन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।