अहिले पनि !
*******
अहिले पनि
सरकारको यात्रा हुदैन
सवारी हुन्छ !
अहिले पनि
सरकार खाना खानु हुन्न
भुजा ज्युनार गरिसिन्छ
सरकार सुत्नु हुन्न
सुकला गरिसिन्छ !
शब्दकोषमा
अलग्गै शब्दहरू छन् सरकारका लागि
ती शब्दहरू प्रतिवन्धित छैनन् !
अहिले पनि
सरकार तिनै तिनै काम गर्नुहुन्छ
जुन हिजो कसैबाट गरिसिन्थ्यो !
सरकारको अघिपछि
उस्तै खाले मान्छे हुन्छन् अहिले पनि
ती सरकारलाई छाता ओढाउँछन्
चमर हम्कन्छन्
बुई बोक्छन्
सय किलोको मालाको लागि
ती पहिले नै तारखवर पठाउँछन् !
अहिले पनि
सरकार उसै गरी सोच्नु हुन्छ
जसरी यस अघि
कोही सोचिबक्सन्थ्यो
सुनको थालमा सुनकै चम्चाले
उसै गरी खानु हुन्छ सरकार
जसरी यस अघि
यो देशमा कोही खाइबक्सन्थ्यो !
सरकारलाई पनि
उसै गरी रगतको तिर्खा लाग्छ
उसै गरी सुनको भोक लाग्छ
उसै गरी अश्लिलताको रहर लाग्छ
उसै गरी शक्तिको मात चढ्छ
जसरी हिजो
कसैलाई लागिबक्सन्थ्यो !
सरकारका आँखाले पनि
जनतालाई- भेडा देख्छन्
कार्यकर्तालाई -हनुमान देख्छन्
र
देशलाई- निजी लालपूर्जा देख्छन् !
सरकार र हिजोको ‘स्योस’मा
एउटै कुराको फरक छ
त्यो हो-
सरकारको टाउकोमा श्रीपेच छैन !
२०७६|०७|१३
भक्तपुर