रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ८ स्थित खार्पाचोकमा तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ सोनाम ल्होछारको अवसरमा ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । खार्पाचोक युवा क्लबको आयोजनामा आगामी माघ १५ गते सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा बुद्धपार्क समेत शिलान्यास हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको बारेमा तेमाल अनलाईनलाई जानकारी दिंदै क्लबका अध्यक्ष लालबहादुर घिसिङले ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य सांसद सांसद बहादुर सिंह तामाङले गर्ने अध्यक्ष घिसिङले बताए।
‘सम्पूर्ण तामाङ एकजुट भई भषा, धर्म र सँस्कृतिको संरक्षण गरौं, पहिचान सहितको ल्होछार भव्यताका साथ सफल पारौं ।’ भन्ने नाराका साथ साप्तव्यापी रुपमा ल्होछार मनाउन लागेका छौं ।’ उनले भने, ‘ आफ्नो धर्म,सँस्कृति पहिचानको रक्षाका निम्ति हामी आफैले गर्नुपर्छ त्यसैले क्लवले बिगत २५, २६ बर्ष देखि ल्होछार मनाउँदै आएको छ।’
क्लवले मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम, अग्रजबाट मोलम थाप्ने कार्यक्रम पछि बृहत साँस्कृतिक कार्यक्रम गर्ने क्लवका सल्लाहकर मुक्त लामाले जानकारी दिए ।
कलाकारहरु को–को आउने ?
बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रममा नेपाली ख्यातीप्राप्त कलाकारहरू उदय सोतङ, मनिला सोतङ, लक्ष्मन शेस, बसन्त सापकोटा, चेतन सापकोटा, तुलसी पराजुली, बसन्त बित्यासी थापा, अस्टा लामा, छेवाङ तेन्जीङ लामा, जेबि सम्योगी, हास्यकलाकार हर्के हल्दार, नमस्ते कृष्णे आउने भएको छ ।
त्यसैगरि तामाङ समुदायमा चिरपरिचित चर्चित तामाङ कलाकारहरु विशाल काल्तान, जितु लोप्चन, सुरेश लामा, प्रयास दोङ, विजय थोकर, कोसिस थोकर, रोजन थोकर र सुष्मा मोक्तान लगायतका कलाकारहरूको प्रस्तुति रहने छ। साथै कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष नृत्य प्रस्तुती रहने छ ।
प्रत्येक वर्ष ल्होछारको अवसरमा क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष पनि भिन्न तरिकाले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।