महाभारत गाउँपालिका काे आठौं वर्षको पन्ध्रौं गाउँसभामा उपाध्यक्ष श्री सागर मोक्तानले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य

यस गरिमामय सभाका सभाध्यक्षज्यू,
वडा अध्यक्षज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विषयगत समितिका संयोजक ज्युहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चार जगत, नागरिक समाज, बुद्धिजीवि, सुरक्षाकर्मी तथा आम महाभारत गाउँपालिका वासी आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु |

यस गरिमामय सभामा महाभारत गाउँपालिकाको तर्फबाट विकासका लागि मार्गदर्शनको रुपमा रहने आठौं वर्षको पन्ध्रौं गाउँसभा मार्फत आगामी आ.व. ०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी भएको छु । यस महत्वपूर्ण घडीमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि इतिहासका विभिन्न कालखण्मा भएका राजनैतिक आन्दोलमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै विभिन्ना आन्दोलनमा घाइते भएका योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

आगामी बजेट महाभारतको समृद्धि, सुशासन र न्याय कायम गर्न लक्षित हुनेछ । बजेट तर्जुमा गर्दा नेपालको संविधान, दीगो विकासको लक्ष्य, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथिको छलफलको क्रममा प्राप्त सुझावहरुलाई मार्ग दर्शनको रुपमा लिएको छु ।

अव म महाभारत गाउँपालिकाको विद्यमान आर्थिक अवस्था र चालू आ.व को बजेट कार्यान्वनको समीक्षा संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
आ व २०८०/८१ मा कूल ५८ करोड ३५ लाख १७ हजार ७ सय ६६ रुपैया बजेट विनियोजन भएकोमा जेष्ठ मसान्तसम्म क्षेत्रगत रुपमा सामाजिक विकास तर्फ ६२ प्रतिशत, आर्थिक विकास तर्फ २९ प्रतिशत, पूर्वाधार विकासतर्फ ६४ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ४९ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६८ प्रतिशत खर्च भएको छ । यसरी कुल बजेटको ५५ प्रतिशत खर्च प्रगती रहेको देखिन्छ ।

अब, म बजेट प्रणालीमा देखिएका मुख्य चुनौती तथा अवसर संक्षेपमा प्रस्तुत गर्दछु ।

यस महाभारत गाउँपालिकाको समृद्धिका लागि हामीले अझै थुप्रै क्षेत्रमा कामहरु गर्नुपर्ने छ । खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी जस्ता क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न सकिरहेका छैनौं । त्यसका लागि दुरगामी दृष्टिकोण, दीर्घकालीन योजना निर्माण र गुणात्मक कार्यान्वयन गर्नको लागि हामीलाई पूँजीको आवश्यकता पर्दछ । एकातिर महाभारत गाउँपालिका भौगोलिक विकटतायुक्त पालिका हो भने अर्को तिर देशको विषम आर्थिक अवस्थाका कारण नेपाल सरकारबाट अपेक्षित बजेट अनुदान झन झन कटौती भई आएको हुँदा हामीसँग भएका असीमित अपेक्षाहरु, योजनाहरु एकै पटकमा समेट्न र बजेट व्यवस्था गर्न कठीन छ । यस सन्दर्भमा आगामी आर्थिक वर्षहरुमा प्राथमिकीकरणको आधारमा योजनाहरु समेट्दै जाने प्रतिवद्धता दिलाउन चाहान्छु । क्षेत्रगत रुपमा कम खर्च प्रगती देखिएको आर्थिक विकासको प्रभावकारिता बढाउन र राजस्व प्रणालीमा सुधार, करको दायर विस्तार गरी लक्ष्यानुरुपको राजस्व संकलन गर्नु चुनौतीको विषय रहेको छ । सार्वजनिक प्रशासनलाई व्यवसायीक, दक्ष र नतिजामुखी बनाई पालिकाको उद्देश्य प्राप्तिमा परिचालन गर्नु चुनौतिपूर्ण रहेको छ । उल्लेखित चुनौतिका बावजुद पालिकाले लिएका पहल कदमीले वित्तीय सुशासनको क्षेत्रमा शुन्य वेरुजु कायम गर्न सफल भएका छौं ।

विविध कठिनाई र चुनौतीका बाबजुद यस गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय एवं संचार जगत प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी यात्राहरुमा पनि निरन्तर सल्लाह, सुझाव तथा सहयोगको अपेक्षा गर्दछु । साथै यस महाभारत गाउँपालिकाको हरेक कार्यमा सहयोग गर्नुहुने आदारणीय गाउँपालिकावासी आमा बुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा विशेष धन्यवाद दिन चाहान्छु ।

विनियोजन दक्षता तथा कार्यान्वयन क्षमताको अभिवृद्धि गर्दै सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धीमूलक बनाउन सघाउ पुग्ने अपेक्षा राख्दै बजेट प्रणालीमा सुधारको प्रस्ताव गरेको छु ।

सभाका सभाध्यक्ष महोदय, अब आ.व. ०८१/८२ को बजेट तर्जूमा गर्दा लिएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शन प्रस्तुत गर्न अनुमति चाहान्छु ।

१. गाउँसभाबाट आ.व. ०८१/०८२ मा पारित नीति तथा कार्यक्रम |

२. नेपालको संविधानले निर्दिष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धि विषय तथा प्राथमिकताहरु

३. नेपालको संविधानले निर्देशित गरेका स्थानीय तहको काम कर्तव्य तथा अधिकार सम्बन्धि विषय तथा प्राथमिकताहरु ।

४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु

५. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्तुलनकाआधारहरु ।

६. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था

७. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७८ ले निर्दिष्ट गरेको वार्षिक योजना तथा बजेट तर्जूमाका आधारहरु ।

८. संघ र प्रदेश सरकारले जारी गरेको नीति कानून तथा मापदण्डहरु ।

९. संघ सरकार र प्रदेश सरकारबाट प्राप्त अन्य मार्गदर्शन एंव निर्देशिका तथा सुझावहरु

१०.चालू सोहौ योजनाले निर्दिष्ट गरेका लक्ष्य एंव उद्धेश्यहरु ।

११.जनतासँग निर्वाचनको समयमा मत माग्दा व्यक्त गरेका सार्वजनिक प्रतिवद्धताहरु

यस सभाका सभाअध्यक्षज्यू,

सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमूलक परिचालन गर्न उपलब्ध अवसर र लाभको समन्यायिक वितरणको आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको छु ।

आर्थिक वर्ष २०८१/०८२ को बजेटका उद्देश्य देहाय बमोजिम रहेका छनः
१. कृषिको व्यवसायीकता र उद्यमशीलता विकास मार्फत उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि गर्ने ।

२. विनियोजन कुशलता बृद्धि गरी पूर्वाधार विकास र सामाजिक क्षेत्रमा लगानी बृद्धि गर्ने ।

३. सीमित स्रोत साधनको महत्तम उपयोग र परिचालन गरी सार्वजनिक वित्तमा सन्तुलन कायम गर्ने ।

४. बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने ।

५. सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै संघीयताको सवलीकरण र सुशासन कायम गर्ने ।

बजेटले लिएका उक्त उद्देश्य हासिल गर्नका लागि देहायका प्राथमिकताहरु तय गरेको छु ।

१. गुणस्तरीय भौतिक पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकास

२. मानव संसाधान विकास, संस्थागत सवलीकरण र सुशासन

३. कृषिको आधुनीकरण र व्यवसायिकीकरण

४. वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन ५. सूचना प्रविधि र उद्यमशीलता विकास

सभाका सभाअध्यक्ष ज्यू,

बजेटले लिएका उद्देश्य हासिल गर्न देहाय बमोजिम सुधार प्रस्ताव गरेको छु ।

१. बजेट प्रणालीमा सुधार र पूँजीगत खर्च सुधारको लागि आयोजना र कार्यक्रमको प्राथमिकता तय, सार्वजनिक खरिद ऐन नियमावलीको वस्तुनिष्ठ कार्यान्वयन, सम्बद्ध निकाय तथा सरोकारवालाको जिम्मेवारी र जवाफदेहिता कायम, बजेट कार्यान्वयन कार्ययोजना तर्जूमा साथै अनुगमन तथा सुपरिवेक्षण प्रणालीमा सुधार गरिनेछ ।

अब, म आठौं वर्षको पन्ध्रौं गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालन गरिने विषयगत शाखा तथा क्षेत्र भित्रका प्रमुख नीति तथा कार्यक्रमहरुमा विनियोजन गरेको बजेट प्रस्तुत गर्न चाहान्छु । तर बजेटमा गाउँ, टोल, बस्ती, प्रत्येक वडा र विभिन्न निकाय तथा क्षेत्रबाट माग भए बमोजिमका बजेट यस गाउँसभाबाट चाहना हुँदा हुँदै पनि बजेटको निश्चित सीमा तथा अङ्क भएकाले कतिपय योजना समावेश गर्न नसकेको प्रति क्षमयाचना गर्दछु ।

अब, म आ. व. २०८१/८२ को विभिन्न विषयगत एवं क्षेत्रगत नीतिसंगत कार्यक्रमहरु प्रस्तुत गर्दछु ।

१. आर्थिक विकास

क. कृषि
१. “जसले रोप्छ कफीको बोट उसले पाउछ २० को नोट” भन्ने नारालाई आत्मसाथ गर्दै दिगो कफी बगैचा क्षेत्र विस्तार कार्यक्रम संञ्चालन आवश्यक बजेट व्यवस्था गरेको छु ।

२. रासायनिक मल र रासायनिक विषादीको प्रयोगबाट हुने नोक्सानी कम गर्न प्रांगारिक मल उत्पादन तथा वानस्पतीक विषादीमा जोड दिइनेछ ।

३. “कफी उत्पादनमा बृद्धि महाभारतको समृद्धि” भन्ने मूल नारालाई आत्मासाथ गर्दै दिगो तथा गुणस्तरीय कफी उत्पादनको लागि कफी खेती क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था
गरेको छु ।

४. कृषि पेशालाई प्रविधिसँग जोडी बिश्व बजारमा प्रतिस्पर्धा गर्न यन्त्र उपकरण जस्ता प्रविधिको विस्तारको लागि बजेटको व्यवस्था गरेको छु ।

५. नवीनतम् प्रविधिको प्रयोगमा कृषकसम्म जानकारी गराउने उद्देश्यले वडामा भएका अगुवा कृषक, कृषक समूह तथा सहकारी तथा जनप्रतिनिधिहरुसँग त्रैमासिक गोष्ठि तथा अभिमुखीकरण कार्यक्रमहरुको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

६. कृषि प्रसार सेवालाई थप प्रभावकारी बनाउन नयाँ जात, नयाँ प्रविधिहरुको परीक्षण प्रदर्शन, कृषि मेला प्रदर्शन, कृषक पाठशाला, कृषक दिवस, कृषक भ्रमण, बाली उपचार शिविर लगायतका कार्यक्रम सञ्चालनको लागि बजेट व्यवस्था गरेको छु ।

७. बढ्दो जलबायु परिवर्तन तथा जोखिम नियन्त्रण गर्न भिरालो जमिनमा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालनको लागि बजेटको व्यवस्था गरेको छु ।

८. स्थानीय स्तरमा नै गुणस्तरीय फलफूल कफी तथा तरकारीको विरुवा सहजै उपलब्ध गराउन पालिकास्तरमा एउटा नमूना नर्सरी स्थापनाको लागि पर्याप्त बजेटको व्यवस्था गरेको छु ।

ख. पशु

१. कृषकहरुलाई गुणस्तरीय प्राविधिक सेवा उपलब्ध गराउनको लागि ” एक गाउँ एक प्राविधिक” लाई निरन्तरताको लागि बजेट व्यवस्था गरिएको छ ।

२. सामुदायिक छाडा कुकुरहरुबाट रेबिज जस्ता प्राणघातक रोग सर्न सक्ने भएकोले रेविज विरुद्धको लागि सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण कार्यक्रम संचालनको लागि बजेटको व्यवस्था गरिएको छु।

३. गाउँपालिका भित्रमा रहेको सम्पुर्ण कृषकहरुको निशुल्क पशुपंक्षी बीमाको लागि बजेटको व्यवस्था गरेको छु ।

४. कृषकहरुको लागि प्राविधिक ज्ञानको अभाव नहोस भन्नको लागि कृषक प्राविधिक पुस्तिका प्रकाशन गर्नका लागि बजेटको व्यवस्था गरेकोछ ।

ग. सहकारी

१. सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि बजेट व्यवस्था गरेको छु ।

२. सामाजिक विकास

क. शिक्षा

१. “शिक्षामा लगानी, ल्याउछ सुनौलो विहानी” भन्ने मर्ममा आधारित हुन आवश्यक बजेटको व्यवस्था गरेको छ ।

२. विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइसँगसँगै शारिरीक, मानसिक विकासको लागि अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको साथसाथै आधारभूत तह (कक्षा १-८) स्तरीय उपाध्यक्षकप प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

३. स्थानीय विषयको पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाई गरी वितरणको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

४. विद्यार्थीहरुमा प्रतस्पर्धा भावनाको विकास गर्न गाउँपालिकास्तरीय खेलकुद र अतिरिक्त क्रियाकलाप संचालनका लागि बजेटको व्यवस्था गरेको छ

५. यस गाउँपालिकाका जेहेनदार विद्यार्थीहरुको प्राविधिक शिक्षा अध्ययनको लागि प्रोत्साहन गर्न उचित छात्रवृत्तिको लागि बजेट व्यवस्था गरेको छु 1

६. गुस्तरीय शिक्षा, विकास नेतृत्व विकास तथा विद्यालय प्रशासनलाई प्रभावकारी बनाउन विभिन्न तालिम गोष्ठी अन्तरक्रिया कार्यक्रम तथा कार्यशाला सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

ख. स्वास्थ्य

१. कुपोषण र विभेद, महाभारतमा निषेध” भन्ने नाराका साथ बालबालिका तथा किशोर किशोरीहरुको नियमित स्वास्थ परिक्षण गरि जोखिमहरु समयमानै पहिचान गर्ने, उचित परामर्श दिने, स्वस्थ जीवनशैली तथा खानपनका व्यवहारहरु सिकाउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिने, कुपोषित बालबालिकालाई पोषण खर्च वितरण साथै पोषणमैत्री र किशोर किशोरी मैत्री स्वास्थ्य संस्था संचानलको लागि बजेट व्यवस्था मिलाएछु ।

२. ”महाभारत बन्दैछ, बा आमालाई सन्चै छ भन्ने नाराका साथ नसर्ने रोगहरुको प्रकोपलाई न्यूनीकरण गर्न र समयमा नै निदान गर्न टोल टोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि सहितको एकिकृत घुम्ति शिविरहरु सचालन गरि उपलब्ध भए अनुसार औषधि वितरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

३. Zero Home Delivery (शुन्य होम डेलिभरी ) वडा बनाउन गर्भवती, सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा सहित संस्थागत सुत्केरी आमालाई पोषण खर्च वितरण कार्यक्रमलाई नियमित सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।

४. आमा समूहलाई सक्रिय बनाई एकिकृत जनस्वास्थ्य शिविर सञ्चालन गर्दै क्षयरोग रोकथाम तथा नियन्त्रण गर्न प्रविधमैत्री स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

ख. युवा तथा खेलकुद

१. वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सीप सदुपयोग गर्दै स्वरोजगार र
उद्यमशीलता विकासका लागि गाउँपालिकाको स्थानीय आर्थिक विकास योजना अन्तरगत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रम सञ्चालय गर्न अध्यक्षसँग युवा अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

२. युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन बिजनेस ” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।

३. गाउँपालिकाका गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहकार्य र साझेदारीको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

ग. संस्कृति तथा पर्यटन

१. संस्कृति तथा पर्यटन विकास सम्बन्धि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ ।

घ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण

१. “हिंसा मुक्त गाउँपालिकाहाम्रो पहिचान” अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध सचेता कार्यक्रम, महिलाहरुको क्षमता विकास तथा सीपमूलक कार्यक्रम जेष्ठ नागरिक सम्मान तथा दलित प्रवर्द्धन कार्यक्रमको लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।

२. जनजाति भाषा संस्कृति प्रवर्द्धन कार्यक्रम सहिद परिवारलाई सम्मान कार्यक्रम तथा लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि अभिमूखीकरण कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

३ भौतिक पूर्वाधार विकास

क. यातायात

१. गाउँपालिकाभित्रका सम्पुर्ण सडकहरुको मापदण्ड कायम गरी सोही अनुरुप गाउँपालिकाको यातायात गुरुयोजना (RMTMP) लाई अद्यावधिक गरी कार्यान्वयनमा ल्याउन बजेटको व्यवस्था गरेको छ ।

२. गाउँपालिकाभित्रका सडकहरुको मर्मत कार्यलाई प्रभावकारी बनाउन मुख्य मुख्य सडकहरु बाहे
महिना सञ्चालन हुने गरी ममर्त सम्भार कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइन उचित बजेटको व्यवस्था गरेको छु ।

३. पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत लाभ बिष्लेषणका आधारमा उच्च नतिजा एवम् प्रतिफल दिने समतामूलक विकासको आधारको रुपमा रहने पिछडीएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने वडागत आयोजनाहरु पहिचान गरी सम्पन्न गर्न बजेटको व्यवस्था गरेको छु ।

४. विगत आर्थिक बर्षदेखिका अधुरा आयोजनाहरुलाई सम्पन्न गर्नको लागि थप बजेट विनियोजन
गरेको छु ।

ख. भवन तथा आवास

१. गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सेवा प्रवाह गर्नका लागि बजेट विनियोजन गरेको
छु

२. गाउँपालिकाको स्वामित्वमा रहेका भौतिक संरचनाहरुको मर्मत सम्भारको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

३. पूर्वाधारका आयोजनाको निर्माण तथा सञ्चालनमा निजी क्षेत्रसँगको साझेदारीका लागि बजेटको व्यवस्था गरेको छ ।

४. निर्माणाधीन घर्तिछाप अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

ग. खानेपानी तथा सरसफाई

१. एक घर एक धारा नीतिलाई नियमित रुपमा अवलम्बन गर्दै खानेपानीको जटिलतम समस्याको तत्कालीन अल्पकालीन र दीर्घकालीन समाधानका लागि स्रोतहरुको खोजी तथा खानेपानीको उत्पादन र वितरण कार्यलाई थप व्यवस्थित बनाउन बजेटको व्यवस्था गरेको छु ।

२. गाउँपालिकाभित्र रहेका खानेपानीको मुहान, सिमसार क्षेत्रको संरक्षण गर्दै ती स्रोतहरुबाट खानेपानीको आपूर्ती गर्न बजेट विनियोजन गरेको छ ।

३. विभिन्न खोला नदी तथा अन्य स्रोतबाट खानेपानी आपूर्ती गर्ने व्यवस्थाको लागि सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अगाडि बढाउन बजेटको व्यवस्था गरेको छ ।

४. निर्माण भएका खानेपानी आयोजनाको मर्मत सम्भारका लागि आयोजना स्तरमा मर्मतसम्भारको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

घ. जलस्रोत तथा सिँचाई

१. गाउँपालिकाभित्र रहेका कृषियोग्य जमिनमा सिँचाईको उपलब्धता सुनिश्चित गर्न सिँचाईको मुहानको खोजी तथा सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२. ठूला सिँचाई आयोजनाहरु सञ्चालन गर्न संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको छ ।

ङ. वातावरण संरक्षण, जलवायुपरिवर्तन तथा विवद् व्यवस्थापन

१. गाउँपालिकाबाट सञ्चालन हुने प्रमुख आयोजनाहरुको कार्यान्वयन गर्दा वातावरणीय अध्ययन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

२. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा जलवायु उत्थानशीलता योजना तर्जूमा गरी सोअनुसार विपद पूर्व तयारी विपद् न्युनीकरण प्रतिकार्य र पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।

४ सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास

१. “सार्वजनिक जवाफदेहिता: शासन विकास र सेवा प्रवाहमा पारदर्शिता” भन्ने आदर्शलाई अनुशरण गरी सार्वननिक सुनुवाई तथा सार्वजनिक परीक्षण र अनलाईन प्रणाली कै माध्यमबाट गर्ने गरी नागरिक गुनासो व्यवस्थापन प्रणाली (Citizen Grievances Response App) योजना तथा कार्यक्रम (PPMS), लेखाङ्कन प्रणाली, राजश्व सुधार, ई सिफारिस (दर्ता चलानी), अभिलेख व्यवस्थापन लगायत गाउँपालिकाबाट प्रवाह हुने सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी विद्युतीय प्रणाली तथा शासनलाई कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

२. “राजनीतिक प्रतिवद्धता र प्रशासनिक सक्षमता: जनप्रतिनिधी र कर्मचारीमा दक्षता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तर तथा परिणाममूखी बनाउन बजेट व्यवस्था गरेको छु ।

३. गाउँपालिकाको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा नागरिकमैत्री बनाउन “हाम्रो महाभारत” नामक मोबाइल एप निर्माण गरी नागरिक वडापत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल निर्माणको लागि बजेटको व्यवस्था गरेको छ ।

४. सार्वजनिक खर्चलाई वैज्ञानिक, अनुमानयोग्य र नतिजामूखी तुल्याउन मध्यकालिन खर्च संरचना (MTEF) पद्धति निर्माण गर्न बजेटको व्यवस्था गरेको छ ।
५. कर्मचारीहरुको पदीय जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन गर्न मासिक त्रैमासिक अर्धवार्षिक र वार्षिक प्रगति समीक्षा प्रतिवेदन तयारीको कार्यलाई अनिवार्य, परिणाममुखी तथा वस्तुनिष्ठ बनाउन बजेट व्यवस्था गरेको छु । ।

६. “चुस्त अनुगमन तथा सुपरीवेक्षण सार्वजनिक निकायमा व्यवस्थापन परीक्षण” भन्ने भनाईलाई सार्थक तुल्याउन कार्यालय तथा मातहतका निकायहरुको कामकारवाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन अनुगमन तथा सुपरीवेक्षणलाई बजेटको व्यवस्था गरेको छु ।

क. राजस्व तथा आन्तरिक श्रोत परिचालन

१. आन्तरिक आय व्यवस्थापन, प्राकृतिक स्रोत बिक्रि सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित बनाउन बजेटको व्यवस्था गरेको छ ।

२. करदाताहरुलाई आफुले तिर्नु पर्ने कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजहरुको सेल नम्बरमा विद्युतिय प्रणालीद्वारा सन्देश प्रावहित गर्ने आवश्यक बजेटको व्यवस्था गरेको छ ।

३. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लैजान आवस्यक बजेटको व्यवस्था गरेको छु ।

ख. स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थाप) सामाजिक सुरक्षा तथा पञ्जीकरण
१. समयमै व्यक्तिगत घटना दर्ता, आमा बुबालाई भत्ता भन्ने नारा अनुसार व्यक्तिगत घटना दर्ता सबै वडाहरुमा अनलाईन प्रणालीबाट सञ्चालन गर्न र सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन वडामा भुक्तानी शिविर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

२. वडा कार्यालयहरुमा राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेसन गर्ने डिभाईस जडान गर्न आवस्यक बजेट व्यवस्था गरेको छु ।

६ प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम

१. रोजगार संवाद मञ्चलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ ।

२. वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि गरिने श्रम स्विकृती र पुनः श्रम स्विकृती यसै कार्यलयबाटै दिन बजेटको व्यवस्था गरेको छ ।

७ गरीवी निवारणको लागि लघु उद्यम विकास

१. “एक घर एक उद्यमी” भन्ने नाराका साथ पालिकाको सबै वडाहरुमा लघु उद्यम विकास कार्यक्रम संचालन गरी नयाँ उद्यमी सिर्जना, स्तरोन्नतिको सीप विकास तालिम र प्रविधी हस्तारण कार्यक्रमको लागि वजेटको व्यवस्गा गरेको छु ।

८. न्यायिक समिति

१. न्यायिक समितिको ईजलास निर्माण तथा मेलमिलापकर्तालाई अब्बल कार्य क्षमता विकासको लागि तालिम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।

२. विद्यालय स्तरीय ऐन कानून सचेतना कार्यक्रम तथा गरिव असाहय पिछडिएको समुदायको लागि वडा स्तरमा कानूनी सचेतनामूलक कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

सभाअध्यक्ष ज्यु,उपस्थित सदस्य ज्यूहरु

अव म यस आ व २०८१/८२ का लागि संघ सरकार प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेस गर्न चाहन्छु ।

संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ८ करोड ५ लाख, सशर्त अनुदान चालूतर्फ रु. १८ करोड ९८ लाख ८८ हजार, शशर्त अनुदान पूँजीगत ४२ लाख, विशेष अनुदान पूँजीगततर्फ १ करोड ४० लाख, समपूरक अनुदान पूँजीगत ३ करोड, राजश्व बाँडफाँटतर्फ ९ करोड २३ लाख गरी कुल रु ४१ करोड ८ लाख ८८ हजार रुपैया अनुदान प्राप्त भएको छ ।

त्यस्तै प्रदेश सरकारबाट, वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ७३ लाख १६ हजार, ससर्त अनुदानतर्फ २ करोड ४८ लाख ७६ हजार, विशेष अनुदानतर्फ ६६ लाख, समपूरक अनुदानतर्फ २ करोड, प्रदेश सवारी करतर्फ १ करोड ८७ लाख ४८ हजार ५० रुपैया गरी कुल रु ७ करोड ७५ लाख ४० हजार ५० रुपैया अनुदान प्राप्त भएको छ ।

त्यस्तै, आ.व. ०८१ । ८२ को राजस्व आय प्रक्षेपण रु. ६० लाख, चालू आ.व. को अनुमानित नगद बैंक मौज्दात रु ७ करोड ५० लाख गरी जम्मा गरी रु. ८ करोड १० लाख रुपैया विनियोजन गरिएको छ । यस आ.व. २०८१/८२ को कूल बजेट ५६ करोड ९४ लाख २८ हजार ५० रुपैयाँ रहेको छ ।

जसमध्ये खर्चतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँट, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा सवारी कर, आन्तरीक आय र चालू आ.व को मौज्दात समेत जम्मा रकम रु २७ करोड ९८ लाख ६४ हजार रुपैया रकम मध्ये कार्यालय संचालन खर्चतर्फ रु ७ करोड १० लाख रुपैया र विकास बजेटतर्फ रु २० करोड ८८ लाख ६४ हजार रुपैया विनियोजन गरेको छु ।

संघ सशर्त अनुदानतर्फ प्राप्त रु १८ करोड ९८ लाख ८८ हजार रुपैया तथा प्रदेशबाट शशर्त अनुदान तर्फ प्राप्त रु २ करोड ४८ लाख ७६ हजार रकम गरी जम्मा रु २१ करोड ४७ लाख ६४ हजार रकमलाई तत् तत् तहबाट नै तय भई आए बमोजिम नै खर्च गरिनेछ ।

अव म आगामी आ.व. २०८१/८२ मा सञ्चालन गरिने प्रमुख कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गर्ने अनुमती चाहान्छु ।

विषयक्षेत्रगत बजेट

बिकास, बजेट अन्तर्गत छुट्याइएको २० करोड ८८ लाख ६४ हजार रुपैया रकमलाई महाभारत गाउँपालिकाको समस्टिगत विषय क्षेत्रको आधारमा निम्नानुसार रकम विनियोजन गरिएको छ ।

आर्थिक विकास

♦आर्थिक क्षेत्र अन्तर्गत कृषि पशु पर्यटन सम्बन्धी कार्यक्रमको लागि १ करोड ५७ लाख ४२ हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास

♦सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, लक्षित वर्ग लैङ्गिक समानता र युवा तथा खेलकुद क्षेत्रका कार्यक्रमको लागि ४ करोड २३ लाख ४७ हजार विनियोजन भएको छ ।

पूर्वाधार विकास

♦पूर्वाधार विकास अन्तर्गत विभिन्न स्थानीय सडक भवन विद्युतीकरण सिचाइ आदि कार्यक्रमको लागि रु १४ करोड ३२ लाख ७८ हजार रुपैया विनियोजन गरिएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन

♦वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत वातावरण संरक्षण विपद व्यवस्थापन जलाधार संरक्षण लगायतका क्षेत्रमा जम्मा रु. २२ लाख बिनियोजन गरिएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

♦संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ गाउँपालिका तथा कार्यालय निर्माणगाउँपालिकाको प्रोफाइल निर्माण, दिगो बिकास कानुनी परामर्श सेवा कार्यालय व्यवस्थापन सूचना प्रविधी आदि क्षेत्रको लागि रु ७ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कानुन तथा न्याय

♦ कानुन तथा न्याय तर्फ रु १४ लाख ५० हजार विनियोजन गरिएको छ ।

तथ्याङ्क प्रणाली

♦तथ्याङ्क प्रणाली तर्फ १३ लाख ४७ हजार रुपैया विनयोजन गरेको छु ।

भैपरी आउने पूँजीगत
वर्तमान संक्रमकालीन अवस्थालाई मध्यनजर गरी आवश्यकता अनुसार पुन कार्यपालिकाको बैठकले खर्च शिर्षक किटान गरी खर्च गर्ने गरी निम्न शीर्षकमा भैपरी आउने पुँजीगत मर्मत कोष र समपूरक अनुदानमा बजेट बिनियोजन गरिएको छ ।

♦भैपरी आउने कोष तर्फ जम्मा रु २५ लाख बिनियोजन गरिएको छ ।

आदरणीय सभाध्यक्ष ज्यु सभाका सदस्य ज्यूहरु,

अन्त्यमा, माथि प्रस्तुत भएको आ व २०८१/८२ को बजेट तर्जूमाको क्रममा मैले सभामा पेस गरेको बजेटका सिद्धान्त र प्रथमिकतामा गहन छलफल गरी मार्गदर्शन गर्नु भएकोमा सभाका सदस्यहरुप्रति कृतज्ञता प्रकट गर्दछु । साथै बजेट निर्माणका क्रममा सुझाव प्रदान गर्ने विषयगत समिति, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, निजीक्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, तथा आम महाभारत वासी प्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । महाभारतको समग्र विकासमा योगन पुऱ्याउने नागरिक तथा सरोकारवालाहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

आर्थिक विकास तथा सामाजिक विकास मार्फत समृद्धि हासिल गर्ने तथा सुशासन र सामाजिक न्याय प्रत्याभुत गर्दै सम्मुन्नत महाभारत निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको यस बजेटको कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
धन्यवाद !!!

सागर मोक्तान
उपाध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।