तेमाल गाउँपालिकाका गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष श्री चन्द्र बहादुर तामाङज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम
(क) नीति तथा कार्यक्रम
आदरणीय सभाका सदस्यज्यूहरु,
गाउँपालिकाको सम्मानित गाउँसभाको १५ औं अधिवेशन समक्ष गाउँपालिको भाविसोच एवं जनआकांक्षा समेटिएको गरिमामय गाउँसभाको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिका लाइ विभिन्न सुझाव दिनु हुने कार्यपलिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विज्ञ महानुभव, राजनीतिक दलका प्रतिनिधि एवं राजनीतिज्ञ, सञ्चारजगत्, नागरिक समाज, निजि क्षेत्र एवं विकास सहयत्री लगायत सम्पुर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु एवम् यस सभाको उद्घाटन सत्रमा उपस्थित आदरणीय महानुभावहरुमा गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस गरिमामय गाउँसभाको सभाध्यक्षको हैसियतले आजको गाउँसभाको १५ औं अधिवेशन बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ ।
यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्गीण विकास, समृद्धि र अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र सङ्घर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात- अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
“सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै तेमाल गाउँपालिकाको आर्थिक-सामाजिक, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध तेमाल, सुखी तेमालको आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध छ । तेमाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा गाउँपालिका प्रतिको आशा र भरोसा जगाउने गरी तेमाल गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, राजश्वमा सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरणमा प्राथमिकता रहेका छन्।
सुशासनलाई संस्थागत गर्न विकास निर्माणलाई गति दिन र सेवाप्रवाहमा सारभूत र आमजनताले अनुभूति गर्नसक्ने सुधार गर्न तेमाल गाउँपालिकाको स्पष्ट कार्ययोजनाका साथ अघि बढेको छ ।
(ख) विकास तथा समृध्दिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौती
विद्यमान अवसरहरूः
हाम्रा लागि देहाय बमोजिमका अवसरहरू रहेकाछनः
१. संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भै २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु ।
२. आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा, योजना तर्जुमाको अभ्यास हुनु ।
३. विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु ।
४. गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।
५. सबै वडामा सडक पूर्वाधारको पहुँच हुनु ।
६. सडक निर्माणमा भएको लगानी संगै गाउँपालिका मा उत्पादित कृषिजन्य उत्पादनलाइ बजार सम्मको पहुँच स्थापित हुनु ।
७. घरहरूको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु ।
विद्यमान चुनौतीहरूः
हाम्रा सामु देहाय बमोजिमका चुनौतीहरू रहेकाछनः
१. रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु ।
२. बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
३. गुणस्तरीय बीउबिजन मलखाद समयमा नै उपलब्ध गराउनु ।
४. युवा जनशक्तिलाइ कृषि ब्यवसाय प्रति आकर्षित गर्नु ।
५. ब्यावसायिक कृषकको संख्या वृद्धि गर्नु ।
६. वैदेशिक रोजगारीबाट फर्केका सीप युक्त युवाको सीप तथा पुँजीलाइ उद्यम विकासमा उपयोग गर्नु।
७. निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु ।
८. सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रइङ विना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु ।
९. भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु ।
१०. अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्नु तथा व्यवस्थित बस्ति विकास गर्नु ।
११. बैज्ञानिक, जलवायु उत्थानशिल तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागू गर्नु।
१२. सञ्चार सेवा प्रदायक संस्थाहरू बाट प्रभावकारी सेवा प्राप्ति र ब्यवस्थित गर्नु ।
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगाबालुवा, गिट्टी,) को मापदण्ड अबलम्बन नगरि अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखण्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना (पूँजीगत सम्पति) को लगत तयार तयार गर्नु, मुल्यांकन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।
(ग) नीति तथा कार्यक्रम तर्जुमाका आधारहरू
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत ब्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानुपर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएकोछ ।
पन्ध्रौं योजना, दिगो विकास लक्ष्य २०३० को मार्गचित्र गाउँपालिका ले कार्यान्वयनमा ल्याइएका कानुनी प्रावधान समेतलाइ ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएकोछ । गुणस्तरीय पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिका भित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योगी ब्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ। विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्ट दृष्टिकोण सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानुनी ढाँचा भित्र आवद्ध गराउने हो। आम नागरिकहरुले साथ सहयोग, सुझाव दिने हो । जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिका ले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ।
गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण लाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्चलाई मितब्ययी बनाइनेछ । यसबाट सेवा प्रवाहलाइ प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ।
(ङ) चालु आ.व. ०८०।८१ को हालसम्मका प्रमुख उपलब्धीहरूको संक्षिप्त विवरण भौतिक उपलब्धि
वित्तिय प्रगति
आ.व. २०८०।०८१ को बजेटबाट गाउँपालिले गरेको हाल सम्मको वित्तिय प्रगति
हाल सम्मको चालु खर्च ६६ प्रतिशत
पुँजीगत खर्च ४७ प्रतिशत
भौतिक पूर्वाधार विकास (सडक, खानेपानी, सिंचाइ) का क्षेत्रमा भएका उपलब्धी
सडक यातायातः
यस गाउँपालिका मा हाल सम्म ०.२४७ किमि पक्कि सडक, ३३.०५ कि.मि. सडक स्तोन्नती र २९.२५ कि.मी नयाँ ट्र्याक सडक, गोरेटो बाटो २ कि.मि. रहेकोछ । गाउँपालिका का सवै वडामा सडकको पहुँच पुगेकोछ।गाउँपालिका ले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत सर्वयाम गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेकोछ । गाउँपालिका बाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाई सुदृढ बनाइएकोछ I
भवन निर्माण तथा भवन निर्माण १९, मन्दिर/गुम्बा निर्माण तथा मर्मत ३४, सत्तल निर्माण १४ खेलमैदान/चौर निर्माण तथा मर्मत ८ र पार्क तथा/ चौतारा/प्रतिक ७ वटा
खानेपानी, उर्जा तथा सिँचाई:
गाउँपालिका का विभिन्न वडामा गरी अनुमानित १०५० धरधुरीमा स्वाच्छ खानेपानी पुगेको र १३.६ हे. मा सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएकोछ । जलवायु परिवर्तनको प्रभावका कारण डिजाइन अनुसार पानी प्राप्त हुने कुरामा चुनौती थपिएकोछ ।
सामाजिक विकास (शिक्षा, स्वास्थ्य, लक्षित समूह) का क्षेत्रमा भएका उपलब्ध
१. पन्ध्र शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाईएको छ।
२. आँखा दाँत ठुलो आन्द्राको क्यानसर निःशुल्क शिविर संचालन गरी ३२४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।
३. क्षयरोगका विरामहरुको पहिचाहन गरी उपचारको दायरामा ल्याउनको लागि छातीको एक्सरे सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएकोछ ।
४. गर्भवती महिला र शिशुको स्वास्थ्य स्थिति पत्ता लगाउन निःशुल्क ग्रामिण भिडियो एक्सरे र सुत्केरी गराउन स्वास्थ्य संस्था सम्म आवत जावतको लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरीएको छ।
५. स्वास्थ्य सम्बन्धी गम्भिर स्वास्थ्य समस्या भएका साथै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई आर्थिक सहायता उपलब्ध गराईएको छ ।
६. स्वास्थ्कर्मिहरुको क्षमता अभिवृद्धि गरी गाउँघर क्लिनिकमा समेत उच्च रक्तचाप मधुमेहका विरामिको पहिचाहन गरि उपचार सेवा संचालन गरिदै आएकोछ ।
७. विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेकोछ । युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण भएका छन ।
आर्थिक विकास (कृषि, उद्योग, पर्यटन, सहकारी, रोजगार ) का क्षेत्रमा भएका उपलब्धी
कृषि तथा पशुपन्छी शाखाको आ.व. २०८०/८१ को हाल सम्मको प्रगतिः
१. पशुपन्छी रोग रोकथाम तथा रोग नियंत्रणकालागि औषधी खरिद गरि बितरण कार्य गरिएको
२. तेमाल २ मा कृषक समूह गठन, अभिमुखिकरण तथा क्षमता अभिब्रद्दि तालिम संचालन
३. किसान सुचीकरण कार्यक्रमको लागि गणक छनौट गरि सम्बन्धित वडामा ( वडा नं ६,७,८ र ९) पठाइएको
४. तेमाल-१ मा आलु पकेट विकास निरन्तरता कार्यक्रम संचालन गरिएको
५. ५०% अनुदान मा ७४ थान मिनिटिलर बितरण गरिएको
६. तेमाल-३ का माझी समादायहरुको जिविकोपार्जन सुधार कार्यक्रमको लागि ४० वटा भैंसीका पाडा पाडी वितरण तथा गोठ व्यबस्थापन कार्यम संचालन गरिएको
७. वाख्रा प्रबर्दन कार्यक्रम (तेमाल ३ र ५) संचालनमा रहेको (३ नं का २ वटा सहककारीले कार्य सम्पन्न गरेका)
८. १५०० वटा गाई भैंसीमा लम्पी स्किन रोगको उपचार गरिएको
९. ३३०० पशुमा खोरेत, १५०० मा भ्यागुते चर्चरे र १२००० भेडा बाखामा पि पि आर रोग बिरुद्द खोप र्यक्रम संचालन गरिएको
१०. जिल्ला सहकारी संघको समन्वयमा सहकारीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको
११. तेमाल २,३,६ र ९ नं वडामा पशु स्वास्थ्य शिबिर संचालन गरि नि शुल्क पशु उपचार, औषधी बितरण, पशु वन्ध्याकरण कार्यक्रम संचालन गरिएको
१२.तेमाल ९ मा रहेका कृषक समूहहरुलाई लेखा तथा व्यबस्थापन तालिम सञ्चालन गरिएको
१३. रेविज रोग नियन्त्रणकालागि निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिएको
१४. तेमाल भित्र संचालनमा रहेका सहकारीका अध्यक्ष र संचालकलाई २ दिने क्षमता अभिवृद्दि तालिम कार्यक्रम संचालन गरिएको
१५.बिभिन्न रोग र किरा नियन्त्रणका लागि किटनाशक तथा ढुसीनाशक बिषादी बितरण गरिएको
सूचना तथा प्रविधि शाखा
-
कार्यालयमा स्थापित प्रविधिको पूर्वधार, उपकरणहरुको व्यवस्थापन र नियमित राख्न प्राविधि सहयोग प्रदान गरिएको ।
-
स्थानीय तहको Website, Software, System को नियमित सञ्चालन र अध्यावधिक गर्ने सहि अभिलेख तथा प्रतिवेदन तयार गरिएकोछ ।
-
स्थानीय तहको आफ्नै Server System, Web Mail, and IP camera को नियमित सञ्चालन गरिएकोछ ।
वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन
वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार ब्यवस्थापनलाइ समेटने गरी पर्यापर्यटनको विस्तार गरिएकोछ ।
गाउँपालिकामा रहेका १५ सामुदायिक वनमा उपयोग र संरक्षण सहितको वैज्ञानिक वन व्यवस्थापनका अभ्यासहरू प्रारम्भ गरिएकोछ ।
रोजगार सेवा केन्द्रबाट भएको उपलब्धी
रोजगार सेवा केन्द्रबाट आ.व. ०८० । ८१ मा ९० जना वेरोगार व्यक्तिहरुलाई रोजगार प्रदान गरिएको छ ।
यस यस सेवा केन्द्रबाट १ जनाको श्रमः स्वीकृत भएको छ ।
सुशासन तथा संस्थागत विकास (कानूनी व्यवस्था, राजश्व परिचालन, संगठन संरचना, सार्वजानिक निजी साझेदारी एवं समन्वय) भएका उपलब्धी
-
गाउँपालिकाले ९ वटा ऐन, २ वटा नियमावली र १५ वटा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोछ। मेलमिलापकर्ताहरुको लागी क्षमता अभिबृद्धि (पुनर्ताजगी) तालिम सम्पन्न गरेको छ।
-
लमिलापकर्ता सम्बन्धि आधारभूत तालिम ४८ घण्टाको सञ्चालन गरेको छ ।
-
तेमाल गाउँपालिकामा थप २४ जना मेलमिलापकर्ता तयार गरिएको छ।श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतको उपस्थितिमा “समुदायमा अदालत कार्यक्रम” सञ्चालन गरेको छ।
-
यस गाउँपालिकाले गत आ.व.२०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA ) मा ७३.२५ (सड्सट्टि) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ६२.५ अंक प्राप्त गरेको छ ।
-
राजश्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरित राजश्व स्रोतको दायरामा वृध्दि भएकोछ ।
(च) आगामी आ.व. को प्रमुख नीति तथा कार्यक्रमहरू
आदरणीय सदस्यज्यूहरु
अब म आ. व. २०८१/८२ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
१. सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
क. शिक्षा
१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको ब्यवस्था मिलाइनेछ ।
२. तेमाल गाउँपालिका भित्रका आधारभूत तथा मध्यामिक विद्यालयहरुमा विद्युतीय हजिरीलाई व्यवस्थापन गर्दै लगिनेछ ।
३. शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरिने छ।
४. गाउँपालिका को स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गरिनेछ। त्यस्तो पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातिय तथा सांस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिइनेछ।
५. स्थानीय पाठ्यक्रमलाई कार्यन्वयन गर्दै विद्यालयमा पठनपाठन हुने स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाई तथा कार्यान्वयन गर्ने ।
६. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७२ संशोधन सहितको एकिकृत पाठ्यक्रमलाई विद्यालयमा कार्यन्वयन गर्नका लागि थप तालिमको व्यवस्था गरिनेछ ।
७. विद्यालय बाहिर रहेका र बिच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।
८. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको ब्यावसायिक क्षमता विकासको लागि लगानी गरिनेछ।
९. अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिनेछ।
१०. विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरी गाउँपालिका को शैक्षिक विकासमा उनीहरुको अनुभवलाई उपयोग गरिनेछ ।
११. सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरिनेछ ।
१२. “उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी
१३. क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ ।
१४. विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनेछ।
१५. सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
१६. गाउँपालिका क्षेत्र भित्रका गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नती गर्दै लगिनेछ।
१७. शैक्षिक प्रणाली मै रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप ब्यवस्थपान, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत ब्यवस्थापन, विद्यालय- अविभावक विचको सञ्चार ब्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरिनेछ।
ख. संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
१. गाउँपालिका लाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता symbol हरु निर्माण गरिनेछ।
२. गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।
३. गाउँपालिका भित्र आयोजना हुने कार्यक्रहरुमा विविध जातीय भेषभुषा, कला साहित्य, संगित लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।
४. तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकले तामाङ समुदायको पहिचान झल्किने गरी सर्वजानिक, निजि तथा समुदायको सझेदारीमा एक अन्तराष्ट्रिय तामाङ साँस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य तथा नीति लिइनेछ ।
ग. युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
१. खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ।
२. विषयगत खेल पुरस्कार राशीहरु स्थापना तथा दिगो ब्यवस्थापन गर्दै जाने नीति लिइनेछ।
३. विभिन्न किसिमका दुर्व्यसनमा परेका युवाहरुलाई निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यक्रमहरु मार्फत दुर्व्यसन मुक्त गराई समाजमा पुनस्थापनाको प्रबन्ध मिलाइनेछ।
४. वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिका को स्थानीय आर्थिक विकास योजना अन्तर्गत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रम संग आवध्द गरिनेछ।
५. युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख गराइनेछ।
६. युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ।
७. विपन्न र गरिब परिवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, ब्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरु प्रदान गरी गरीबी न्यूनिकरण र जिविकोपार्जनमा सहजीकरण गरिनेछ।
८. गाउँपालिका का गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहकार्य र साझेदारी गरिनेछ।
घ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम
१. लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
२. महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य, बालबालिकाको अधिकारसम्बन्धी तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
३. बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन, बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यसन, छाउपडी, दाइजो तथा तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिनेछ ।
४. बलात्कार तथा घरेलु हिंसालगायत सबै प्रकारका हिंसा, विभेद र शोषणसम्बन्धी मुद्दामा सरल, सुलभ र छिटो न्यायिक निरूपण हुने व्यवस्था मिलाइनेछ ।
५. सामाजिक सुरक्षा भत्ता वडा तहमा नै वितरण गर्ने व्वस्था मिलाइनेछ ।
६. ज्येष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
७. महिला उद्यमसीलता विकासका लागि महिलाद्वारा प्रवर्द्धित व्यवसायमा निश्चित प्रतिशत कर छुटको व्यवस्था गरिनेछ।
८. गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम संचालन गरिनेछ।
९. जनयुद्ध/जनआन्दोलनका शहिद, घाइते आपाङ्ग र वेपत्ताहरुको पहिचान एवं अभिलेखीकरण गरी नीजहरुको आवश्यक परीपूरणको व्यवस्था मिलाइने नीति लिइनेछ ।
ङ स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
१. नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँ गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाइ सहज र नियमित वनाइनेछ ।
२. तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाइनेछ ।
३. गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उलब्ध गराउने नीति लिइनेछ ।
४. जेष्ठ नागरिक अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।
५. आमा सुरक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
६. महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रदान गर्दै आइरहेको प्रोत्सहनलाई थप गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउदै लैजाने निति लिइनेछ ।
७. तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८१।०८२ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
८. महिला सम्बन्धी पाठेघर क्यान्सर र स्तन क्यानसरको परिक्षण र उपचारको व्यवस्था गरिने नीति लिइनेछ ।
९. गाउँपालिका भित्र सकृय रहेको आमा समुहरुलाई तालिमको व्यवस्था गरिनेछ ।
१०. महामारी रोग नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरिने नीति लिइनेछ ।
११. नसर्ने रोग नियन्त्रणका लागि परिक्षण र उपचारको व्यवस्थालाई निरन्तरता दिइने नीति लिइनेछ ।
१२. मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।
१३. नागरिकहरुलाई मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने छ।
१४. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण गर्ने व्यवस्था मिलाइनेछ।
१५. बर्थिङ्ग सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाइको स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालन गरिनेछ ।
१६. नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ।
१७. आर्थिक रुपमा अति विपन्न गाउँपालिका वासीहरुको स्वास्थ जाँच र उपचारका लागि निजहरुलाई अस्पताल ल्याउन-लैजान एम्बुलेन्स सेवाको प्रबन्ध गरिनेछ।
१८. अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ।
१९. गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवर्द्धन र प्रशोधका कार्यहरु संचालन गरिनेछ ।
२०. महिला स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ।
२१. स्वास्थ्य संस्थाहरुको प्रभावकारी सेवा विस्तारका लागि सार्वजनिक संस्था निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग सहकार्यको नीतिलाई निरन्तरता दिइनेछ।
२२. स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ।
२३. स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ।
२. आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
२.१ तेमाल गाउँपालिका भित्रका सुनकोशी तथा रोशी क्षेत्रको जल पर्यटनका लागि अध्ययन गरिनेछ ।
२.२ स्थानीय आर्थिक विकासलाइ योजनावद्ध रूपमा कार्यान्वयनमा ल्याइनेछ । यस अन्तरगत स्थानीय प्रतिस्पर्धी वस्तु वा सेवाको सहभागितामूलक पहिचान गरी ती वस्तु वा सेवाहरूको समग्र मुल्य श्रृङ्खला (उत्पादन देखि बजारीकरण सम्म) मा गाउँपालिका, निजीक्षेत्र, र सहकारी ( समुदाय ) समेतको सहकार्यमा स्थानीय आर्थिक विकासका योजना अन्तरगतका कार्यक्रमहरू सञ्चालन गरिनेछन ।
२.३ उल्लिखित बमोजिम स्थानीय आर्थिक विकासका सम्भावनाहरूको पहिचान र ब्यावसायिक परिचालनका लागि गाउँपालिकाले विशेष पहल गर्नेछ । यसका लागि स्थानीय तहमा ब्यावसायिक वातावरणको विकास गर्न गाउँपालिकाले नीजिक्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी ( समुदाय समेत) को सहभागिता रहने गरी एक स्थानीय आर्थिक विकास सम्वाद मञ्च गठन गर्नेछ ।
२.४ नव प्रवर्तन र उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप इकोसिष्टमको विकास गर्न उद्यमशाला सञ्चालन गरिनेछ । यस अन्तरगत स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तिकरण तथा वित्तिय साक्षरता सहितको सीप विकास, उद्यमशीलता विकास तथा नव उद्यमशीलता प्रवर्द्धन र विशिष्टिकृत वस्तुको उत्पादन तथा वजारीकरण समेटिनेछन ।
क. उद्योग तथा पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम
१. तेमाल गाउँपालिका भित्रका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा राजश्व संकलनका लागि नीति बनाइनेछ I
२. औधोगिक तथा ब्यावसायिक विकासका लागि गाउँपालिका उद्योग वाणिज्य संघ सँग साझेदारीको नीति लिइनेछ। औधोगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडी बढाइनेछ।
३. औधोगिकग्राम पूर्वाधार निर्माण कार्य सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गरिनेछ । गाउँपालिका जनताको मागलाई मध्यनजर गर्दै सबै प्रकारका सुरक्षा सुनिश्चितताका साथ स्थानीय सरकार र उद्योग वाणिज्य संघसँगको सहकार्यमा सघन बजारक्षेत्रको सुरुवात गरिनेछ ।
४. उद्योग व्यवसाय दर्ता, नविकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइनेछ ।
५. लगानीमैत्री नीति तथा औधोगिक पूर्वाधार सुदृढीकरण गर्दै उद्योग तथा पर्यटनको विकासको नीति निइनेछ।
६. सम्पूर्ण स्वदेशी कच्चा पदार्थ गरी उत्पादन गर्ने साना तथा मझौला उद्योगहरुलाई उत्पादन स्थलसम्म सडक पूर्वाधार तथा विद्युतिकरणको पहुँच पुराइनेछ ।
७. पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिका को पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछ।
८. गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय स्थलहरु जोड्न पर्यटकीय सडक संजाल कार्यान्वयन प्रारम्भ गरिनेछ।
९. विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिहरुको प्रवर्द्धन गरिनेछ।
१०. विभिन्न जातजातिहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचान अवगत गराउन पर्यटकहरुलाई होमस्टेसहित स्थानीय अर्गानिक तरकारी तथा अन्य खाद्य उत्पादनपाहुनाको रुपमा राख्न घर छनौट गरिनेछ।
११. मुख्य स्थान चोक र गाउँपालिका प्रवेशद्वारहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटक आकर्षण गर्न डिजिडल डिस्प्ले /विलवोर्ड राखिनेछ।
१२. गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री प्रसारण र ब्रोशर हरुको वितरण गरिनेछ।
१३. अन्तर गाउँपालिका सम्बन्ध प्रवर्द्धन गर्दै अन्य स्थानीय तहहरुका असल अभ्यासलाई अनुसरण गरी पर्यटन प्रबर्द्धन गर्न थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाउँपालिका हरुसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ।
ख. कृषि तथा पशुपंक्षी सम्बन्धी नीति तथा कार्यक्रम
१. तेमाल गाउँपालिकामा उत्पादन भएको बुद्धचित्ताको संरक्षणका लागि सहजीकरण गरिनेछ ।
२. तेमाल गाउँपालिकाले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।
३. कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरीनेछ ।
४. तेमाल गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने दलित तथा पिछडिएको वर्गको घर परिवारको पहिचान गरिनेछ ।
ग. सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
१. सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निक्षेपकर्ताहरुको हित संरक्षणका लागि अनुगमनलाई प्रभावकारी तुल्याइनेछ।
२. उत्पादनमूलक सहकारीहरुको स्थापना गरिएमा विउपूजी लगानीको रुपमा सहयोग उपलब्ध गराइने र वार्षिक उत्पादनका अनुदान दिने नीति लिइने छ।
३. गाउँपालिका भित्र स्थापना हुने कृषि समूह निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्य क्षेत्र अनुमति जस्ता विषयहरुलाई व्यवस्थित ढंगले अघि बढाइनेछ।
४. सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी नीतिलाई समयानुकूल बनाइनेछ ।
३. भौतिक पूर्वाधार विकास ( आवास तथा पूर्वाधार) सम्बन्धी नीति तथा कार्यक्रम
१. आवधिक योजना, आवास योजना, र वस्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
२. गाउँपालिका तथा वडा कार्यालयहरु जोड्ने रणनितिक सडकहरु निर्माणमा निरन्तरता दिइनेछ ।
३. विकास आयोजना छनौट गर्दा सामाजिक-आर्थिक लाभ, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइनेछ । पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिनेछ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरूको पुनःप्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ ।
४. दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
५. एकिकृत शहरी तथा वस्ति विकास योजनाद्वारा निर्दिस्ट गरेका पूर्वाधारहरुको निर्माण कार्यका लागि संघीय सरकार, प्रदेश सरकार र साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिइनेछ।
६. गाउँपालिका को विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिका गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन।
७. विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ।
८. घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस् र पुँजी चलायमान होस् भन्ने उद्देश्यले घर निर्माण गर्नु पूर्व नागरिकलाई घरको आवश्यकता, घरको लागत, मापदण्ड र उपयोग सम्बन्धमा निःशुल्क परामर्श दिईनेछ।
९. नेपाल राष्ट्रिय भवन संहिता २०६०, वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२, राष्ट्रिय भू-उपयोग नीति, भवन तथा योजना मापदण्ड २०५६ लगायतका राष्ट्रिय प्रादेशिक इवं स्थानीय भूमि व्यवस्थापन तथा भवन नियमन सम्बन्धी ऐन, मापदण्ड तथा निर्देशिकाहरुलाई कडाईका साथ लागु गरी सुरक्षित एवं व्यवस्थित निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
१०. गाउँपालिका क्षेत्र भित्र आवासीय भवनमा “एक घर एक विरुवा” नीतिलाई निरन्तरता दिइनेछ।
११. भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ।
१२. गाउँपालिका भित्र भु-उपयोग नीति लागु गर्दै जाने नीति लिइनेछ।
१३. गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ ।
१४. गाउँपालिका को स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
१५. विभिन्न कालखन्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना ( पूँजीगत सम्पति) को लगत तयार अद्याविधक तथा मुल्यांकन गरी सार्वजनिक सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गरिनेछ ।
१६. प्रभावकारी सम्पति ब्यवस्थापनका लागि सम्पति ब्यवस्था सूचना प्रणाली (Asset Management Information System) तयार गरी लागु गरिनेछ ।
१७. पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजीक्षेत्र संगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरि कार्यान्वयन गरिनेछ ।
४. सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रम
१. स्थानीय सञ्चार गृहहरुको सुदृढिकरण गर्दै संचार सस्था र गाउँपालिका को सहकार्यमा जनहितकारी सूचनाहरु सम्प्रेषण गर्ने, गाउँपालिका का निर्णय तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिइनेछ ।
२. विज्ञापन तथा सूचनामा स्थानीय संचार संस्थाहरुलाई प्राथमिकता दिइनेछ।
३. नागरिकहरुको सूचनाको हकको सम्मान गर्दै गाउँपालिका लाई सूचनामैत्रि बनाइनेछ।
४. डिजिटल पालिका प्रोफइल तयार गरिनेछ । सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
५. सार्वजनिक सेवाको निर्वाध सञ्चालनका लागि सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित संवेदनशील पूर्वाधारको व्यवस्था गरिनेछ ।
६. स्थनीय तह नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ ।
७. गाउँपालिका अन्तर्गतका सरकारी संस्थाहरुमा द्रुतगतिको इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाई तीव्रता दिइनेछ ।
५. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी नीति तथा कार्यक्रम
१. न्यायिक समितिको अधिकार क्षेत्र भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादन गर्न आवश्यक नीति तथा कानूनहरुको प्रबन्ध मिलाइनेछ।
२. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
३. सभाबाट हालसम्म निर्माण भएका ऐन कानूनहरुलाई संग्रहित गरी स्थानीय कानून संग्रह प्रकाशन गरिनेछ।
४. मानव अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानून तर्जुमा गरी प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
४. सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम
१. गाउँपालिका भित्रका नागरिकहरुको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्ने र सो को सम्बोधन अनलाईन प्रणाली कै माध्यमबाट गर्ने गरी नागरिक गुनासो ब्यवस्थापन प्रणाली (Citizen Grievances Response App) तयार गरी लागु गरिनेछ।
२. आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्ने सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्य अगाडी बढाईनेछ ।
३. प्रत्येक महिनाको आय/व्ययको विवरण गाउँपालिका तथा वडा कार्यालयको सूचनापाटि तथा वेवसाइटमा प्रकाशित गरिनेछ ।
४. गाउँपालिका कार्यालयको मानव संशाधन पर्याप्त नभएक क्षेत्रमा सम्बन्धित विषयका विज्ञहरुलाई सहजकर्ता वा विशेषज्ञको रुपमा प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
५. जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईनेछ ।
६. गाउँपालिका बाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरिनेछ । सो कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिका को तर्फबाट सुझाव पेटिकाहरु राखिने छ ।
७. गाउँपालिका तथा वडाबाट प्रवाह हुने योजना, लेखा, राजश्व लगायत सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीलाई जोड दिईने छ ।
८. गाउँपालिका को काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा सम्पुर्ण नागरिक समक्ष पुर्याउन “हाम्रो गाउँपालिका ” नामक मोबाइल एप्स निर्माण गरि वडा पत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल आदिको जानकारी प्रदान गर्ने साथै फ्रि वाईफाई जोन बनाउने नीतिलाई निरन्तरता दिईनेछ ।
९. आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ।
१०. गाउँपालिका भित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहिन ढंगले खोज तथा अध्ययन गरी अभिलेख राखी त्यस्ता जग्गाहरुको संरक्षण गरिनेछ ।
११. गाउँपालिका भित्र रहेका असंगठित क्षेत्रका मजदुरहरुको तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन गरी निजहरुको रोजगार तथा सेवाको सुरक्षा र निजहरुको हित प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
१२. विपन्न र न्यून आय भएका घर परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराई लक्षित कार्यक्रमहरु संचालन गरिनेछ।
१३. संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरिनेछ।
६. वन, वातावारण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम
(क) खानेपानी तथा सरसफाई
१. तेमाल गाउँपालिका भित्र स्वच्छ, गुणस्तरीय र भरपर्दो खानेपानी सुविधा उपलब्ध हुनेगरी खानेपानीका कार्यक्रम कार्यान्वयन गरिनेछ
२. करदाताहरुलाई आफुले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजहरुको सेल नम्बरमा विद्युतिय प्रणालीद्वारा सन्देश प्रावहित गर्ने नीति लिइनेछ।
३. करदाताहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्दै उत्कृष्ट करदाताहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने नीति लिइनेछ।
४. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ।
५. अव्यवस्थित वसोवासीहरुलाई लगाउदै आएको घरधुरी करलाई निरन्तरता दिइनेछ। घरको संरचना र प्रकृति अनुसार दरहरुको प्रगतिशिल पुनरावलोकन गरिनेछ।
७. करदाताको कर लगतलाइ ब्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्न, करदातालाइ कर सम्बन्धी सूचना प्रवाह गर्न डिजीटल कर प्रणाली लागु गरिनेछ ।
८. कर शिक्षा सञ्चालन सम्बन्धी नितिलाई हरेक वर्ष प्रभावकारी रुपमा अभियनात्मक ढंगले अगाडी बढाइनेछ ।
कर्मचारी सम्बन्धी नीति
गाउँपालिकाको नीति नियम तथा ऐन, कानून निर्माण तथा कार्यन्वयनका लागि गाउँपालिकाको आन्तरिक श्रोतबाट कानूनी सल्लाहकारको दरबन्दी सिर्जान गरिनेछ ।
अन्त्यमा, नीति तथा कार्यक्रमको समयबद्ध एवं सफल कार्यान्वयनबाट तेमालको समाबेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा बृद्धि भई जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ साथै सामाजिक सदभाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सवै महानभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
चन्द्र बहादुर तामाङ
अध्यक्ष
तेमाल गाउँपालिका
मिति २०८१।०३।१०
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।