रोशी गाउँपालिका उपाध्यक्ष श्री मिम बहादुर वाईवा (ज्वाला)ले गाउँसभाको पन्ध्रौं अधिवेशनमा प्रस्तुत गर्नुभएको आ.व. २०८१/८२ को वार्षिक बजेट वक्तव्य

गाउँसभाका अध्यक्ष ज्यू, उपस्थित गाउँसभाका सदस्यहरु,

अब म आगामी आ.व. २०८१/८२ को राजश्व र व्ययको अनुमान (बजेट वक्तव्य) यस गरिमामय सभामा प्रस्तुत गर्दछु ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने तथा राज्य शक्तिको प्रयोग तीनै तहले संविधान र कानुन बमोजिम गर्ने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ५९ र ६० मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने तथा आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउने र ती स्रोतहरुबाट राजश्व उठाउन सक्ने व्यवस्था गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको विषयमा स्थानीय तहको विकासको लागि आवधिक, वार्षिक, रणनीतिक र विषय क्षेत्रगत, मध्यमकालीन खर्च संरचना तथा दिर्घकालीन योजना बनाइ लागू गर्नु पर्ने व्यवस्था रहेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने, मध्यमकालीन खर्च संरचना तयार गर्ने, आवश्यकताको प्रक्षेपण गर्ने, गाउँपालिकाको आर्थिक, सामाजिक, शासकीय व्यवस्थामा प्रभावकारिता ल्याउन नीतिगत मार्गदर्शन गर्ने, लगानीको माध्यमबाट विकासका आयामहरु थप फराकिलो बनाई आर्थिक विकासमा टेवा पुर्याउने साधनको रुपमा वार्षिक बजेटलाई लिइएको छ । सिमीत स्रोत र साधनलाई अधिकतम परिचालन गरी रोशीको आम नागरिकको शासन, विकास र सेवा प्रवाहको व्यवस्था मिलाउनु आजको आवश्यकता हो । साथै श्रोतसाधन र आवश्यकताहरुको बीचमा तालमेल गराई कार्यक्रमलाई प्रभावकारी, पारदर्शी, अर्थपूर्ण बनाउनु हामी सबैको साझा जिम्मेवारी र कर्तब्य हो । यस कार्यमा सम्पूर्ण गाउँसभाका सदस्यहरुको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु ।

चालु आ. व. को हालसम्मको प्रमुख उपलब्धीहरुको संक्षिप्त विवरणः

गाउँ सभाका अध्यक्ष महोदय,

रोशी गाउँपालिकाको चालु आ. व. का लागि गाउँसभाको १३ औं अधिवेशनबाट कुल रु. ७४ करोड २७ लाख ६० हजारको आय स्वीकृत गरिएकोमा हालसम्म ६२ करोड ५९ लाख १६ हजार आय भएको र आ.व. को अन्त्य सम्ममा ६७ करोड २७ लाख ६० हजार बराबरको आय हुने अनुमान गरिएको छ । त्यसै गरी कुल रु. ७४ करोड २७ लाख ६० हजारको व्यय अनुमान गरिएकोमा हालसम्म ५२ करोड १ लाख ७३ हजार खर्च भएको र आ.व. को अन्त्यसम्ममा ६७ करोड २७ लाख ६० हजार व्यय हुने अनुमान गरिएको छ । यसरी बजेट विनियोजन गरी कार्यान्वयन गरेकोमा देहाय अनुसारका मुख्य मुख्य उपलब्धि हासिल भएको छ  ।

१. चालु आ.व. को हालसम्म चालु तर्फ ७४.८४ प्रतिशत र पूँजीगत तर्फ ५५.६१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

२. जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत हालसम्म १६१८ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य विमा गरिएको छ ।

३. “सुत्केरी आमा; पोषिलो खाना कार्यक्रम” अन्तर्गत १९९ जना आमाहरु लाभान्वित भएका छन् ।

४. रोशी गाउँपालिका क्षेत्रमा करीव १ कि.मी. सडक कालो पत्रे गरिएको छ ।

५. आय आर्जनसँग सम्बन्धित क्रियाकलाप मार्फत दलितहरुको आर्थिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यले चालु आ.व. मा वडा नं ५, ६ र ९ गरी ३ वटा वडाका २५ जना दलितहरुलाई उन्नत जातको बाख्रा तथा सिलाई मेसिन, वाइलिङ मेसिन सुधारिएको आरन वितरण गरिएको छ ।

६. मध्यमकालीन खर्च संरचना स्वीकृत भई कार्यान्वयन गरिएको छ ।

७. रोशी गाउँपालिका भित्रका माध्यमिक तहमा अध्ययनरत १६ विद्यालयका खेलाडीहरुको सहभागितामा २८ विधामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिएको । ८. विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन र शैक्षिक पहुँच अभिवृद्धि गर्न कक्षा १ देखी ५ सम्मका बालबालिकाहरुका लागि दिवा खाजा कार्यक्रम मार्फत २८८१ जना विद्यार्थी लाभान्वित भएका छन ।

९. अनिवार्त तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।

१०.गाउँपालिकाको प्रशासकीय भवनको ६८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

११. सबै वडा कार्यालयहरु आफ्नै भवनबाट संचालन भई सेवा प्रवाहमा सुधार आएको छ ।

१२.सबै वडास्तरमा संचालन भएका आयोजनाहरुले जनताका दैनिक समस्याको समाधान गर्ने खानेपानी, बाटो सरसफाइ, घाटेपाटी, मन्दिर निर्माण तथा मर्मत सुधारका कार्यहरु भएका छन्।

१३. गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१४. स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाहमा न्युनतम सेवा मापदण्ड कार्यक्रम सुरुवात गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौती तथा संघीय राजस्व बाँडफाँडबाट समेत अपेक्षित बजेट हासिल नभएको र स्थानीय दहत्तर बहत्तरको ठेक्का व्यवस्थापन हुन नसक्दा ठुलो मात्रामा घाटा बजेट व्यहोर्नु परेको अवस्था हामी सबैलाई सर्वविदितै छ । सन्तुलित विकासको अवधारणा अनुसार आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागततर्फ समानुपातिक ढंगले रकम बाँडफाँड गर्ने पद्धति तथा सोचको विकास सकेको छैन । बस्तीस्तरबाट तर्जुमा भई आएका योजनाहरुको योजना बैंक तयार गर्न नसकेको र कानुनले तोके अनुरुपका त्रिवर्षीय खर्च संरचनालाई संस्थागत गर्न नसक्दा योजना छनौट तथा कार्यान्वयनमा असमाञ्जस्यता हुने गरेको छ । आवधिक योजनाले लिएका लक्ष्यहरु, मध्यमकालीन खर्च संरचनाले गरेका व्यवस्थाहरुलाई श्रोतसाधनसँग तालमेल गरी प्राथमिकताका साथ श्रोतको विनियोजन गर्ने काम गर्ने हो भने वार्षिक विकास योजनामा विवादरहित र सफल कार्यान्वयन हुने कुरामा विमती छैन ।

बजेटको सोच, लक्ष्य, उद्देश्य, प्राथमिकता र अपेक्षित उपलब्धिहरु:

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रमको सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा प्राथमिकता निम्न अनुसार रहेको छ ।

सोच: “समृद्ध रोशी; जनता खुसी “

लक्ष्यः मानव विकास तथा सुशासन सहितको दिगो आर्थिक तथा सामाजिक विकास गर्ने ।

उद्देश्यः

१. उत्पादन र रोजगारी वृद्धि गर्नु,

२. स्वस्थ र सक्षम नागरिक विकास गर्नु,

३. गुणस्तरीय पूर्वाधार विकास गर्नु,

४. विकास र वातावरण बीच सन्तुलन कायम गर्नु,

५. सुशासन कायम गर्नु ।

रणनीतिः

१. कृषि, पर्यटन एवं उद्योग लगायत आर्थिक क्षेत्रको उत्पादन बृद्धि र बजारीकरण गर्ने,

२. गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षामा पहुँच बृद्धि गर्ने,

३. गुणस्तरीय आधारभूत स्वास्थ्य र स्वच्छ खानेपानी सेवामा पहुँच बृद्धि गर्ने,

४. नागरिकको सर्वाङ्गिण विकास एवं सामाजिक समावेशीकरण सुनिश्चित गर्ने,

५. वातावरणमैत्री, उत्थानशील र दीगो स्थानीय पूर्वाधार विकास गर्ने,

६. वन वातावरण, भू तथा जलाधार, जैविक विविधता संरक्षण तथा दिगो उपयोग गर्ने, ७. जलवायुमैत्री विकासको प्रवर्द्धन र विपद् जोखिम न्यूनीकरण गर्ने,

८. सार्वजनिक क्षेत्रको संगठनात्मक सुदृढीकरण गरी शासकीय क्षमताको अभिवृद्धि गर्ने

बजेटका प्राथमिकताहरुः

  • भौतिक पूर्वाधार विकास र पूँजी निर्माण

  • औद्योगिक विकास र पर्यटन प्रवर्धन

  • कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि उत्पादनमुखी कृषि क्षेत्रको विकास दिगो विकास, सुशासन प्रवर्धन र प्रभावकारी सार्वजनिक सेवा

  • वातावरण संरक्षण तथा विपद् व्यवस्थापन

  • शासकीय सुशासनको अभिवृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार

अपेक्षित उपलब्धिः

  • सुविधासम्पन्न आधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न हुने ।

  • वातावरणमैत्री पूर्वाधार विकासको माध्यमद्वारा आर्थिक सामाजिक विकासको आधारशीला तयार भएको हुने ।

  • ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारमा पहुँच हुने ।

  • अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन हुने ।

  • स्थानीय सीपको प्रवर्धन र उद्यमशिलताको विकास मार्फत रोजगारी सिर्जना भएको हुने ।

  • कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि हुने।

  • वित्तीय सुशासन कायम भई बेरुजु न्यनिकरण भएको हुने ।

  • नागरिकको जीवनस्तरमा सुधार हुने ।

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु

आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट तयार गर्दा निम्न कुराहरुलाई आधारको रुपमा लिएको छु ।

  • नेपालको संविधान, २०७२

  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

  • स्थानीय सरकार संचालन ऐन, २०७४

  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६

  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७

  • संघ, प्रदेश र स्थानीय तह विचको समन्वय र अन्तर सम्बन्धी ऐन, २०७७

  • विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४

  • विद्यमान राष्ट्रिय प्राथमिकता प्रादेशिक तथा स्थानीय नीतिहरु

  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७

  • दिगो विकास लक्ष्य (२०१६-२०३०)

  • राष्ट्रिय तथा प्रदेश सरकारको मार्ग निर्देशन

  • स्थानीय तहमा बजेट तर्जुमा तथा कार्यान्वयन निर्देशिका, २०७४

  • स्थानीय तहमा योजना तर्जुमा दिग्दर्शन, २०७८

  • गाउँपालिकाको दोस्रो आवधिक योजना (२०८१/८२-८५/८६)

  • शिक्षा नीति, २०८०

  • यातायात गुरुयोजना, २०८०

  • पर्यटन गुरुयोजना, २०८०

  • राजश्व सुधार कार्ययोजना (२०८१/८२ – ८५/८६)

  • गाउँपालिकाको डिजिटल प्रोफाइल, २०८१

  • WASH PLAN, २०८०

  • भूः उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरु, २०८०

  • मुख्य आयोजना कार्यक्रमहरुको विवरण तथा अनुमानित व्यय र स्रोत व्यवस्थापन

मुख्य आयोजना कार्यक्रमहरुको विवरण तथा अनुमानित व्यय र स्रोत व्यवस्थापन

सभाध्यक्ष महोदय एवं उपस्थित गाउँ सभाका सदस्यहरु,

आगामी आ.व. २०८१/८२ का लागि नेपाल सरकार, प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक श्रोत सहित प्राप्त हुने कुल रु. ६९ करोड २० लाख ९८ हजार आय र सोही बमोजिमको व्यय हुने गरी आयोजना तथा कार्यक्रमहरु प्रस्ताव गरेको छु । जसमध्ये आन्तरिक स्रोतबाट १ करोड २४ लाख ८४ हजार, स्थानीय राजश्व बाँडफाँडबाट ४ करोड ४० लाख, संघीय राजश्व बाँडफाँड बाट १० करोड ६५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ९६ लाख ५८ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ३० लाख, संघीय सशर्त अनुदानबाट ३१ करोड १३ लाख ९३ हजार, संघीय समपुरक अनुदान १ करोड, प्रदेश सरकार समानीकरण ९८ लाख ९३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ३ करोड १० लाख ७० हजार, प्रदेश सरकारको समपुरक अनुदान २ करोड प्रस्ताव गरेको छु । आगामी वर्षको लागि प्राप्त हुने विभिन्न क्षेत्रको अनुमानित आय तथा व्ययलाई अनुसूचीमा समावेश गरेको छु ।

अब म आगामी आ.व. २०८१/८२ को विषय क्षेत्रगत कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति चाहन्छु ।

पूर्वाधार विकास अन्तर्गत देहायको कार्यक्रम तथा बजेट प्रस्ताव गरेको छुः-

१. रोशीको गौरवको आयोजनाको रुपमा रहेको वडा नं. १ देखि ७ सम्म जोड्ने चौकीडाँडा खहरेपाँगु सडक स्तरोन्नति तथा कालोपत्रे गर्न रु. २ करोड विनियोजन गरेको छु ।

२. स्वीकृत सडक गुरुयोजना कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

३. रोशी गाउँपालिकाको प्रत्येक वडा केन्द्र जोड्ने सडकलाई सर्वयाम सञ्चालनका लागि मर्मत संभारकोषको लागि ३६ लाख बजेट विनियोजन गरेको छु ।

४. आगामी १ वर्ष भित्र गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाहको व्यवस्था मिलाउन नेपाल सरकार सँग समन्वय गरी आवश्यक रकम विनियोजन
गरेको छु ।

सभाध्यक्ष महोदय एवं उपस्थित गाउँ सभाका सदस्यज्यूहरु,

सामाजिक विकास अन्तर्गत देहायको कार्यक्रम तथा बजेट प्रस्ताव गरेको छु:-

१. गाउँपालिका भित्रका ६० वर्ष वा सो भन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको
हेरचाह गर्न निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न रु. ५५ लाख बजेट विनियोजन गरेको छु ।

२. मातृ तथा नवजात शिशु मृत्युदर न्यूनिकरण गर्न ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।

३. पालिका भित्रको स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिई नागरिकको गुणस्तरिय स्वास्थ्य सेवामा सुधार गर्न थप जनशक्ति व्यवस्थापनका लागि रु १ करोड १० लाख बजेट विनियोजन गरेको छु ।

४. नसर्ने रोगहरुको रोकथाम, उपचार र नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।

५. गाउँपालिकामा प्रसूति सेवा सहितको १० शैयाको अस्पताल निर्माण कार्यलाई आगामी १ वर्ष भित्र सम्पन्न गर्न संघीय सरकारको सहयोग र समन्वयमा आवश्यक बजेटको व्यवस्था सहित म्याद थपको व्यवस्था मिलाएको छु।

६. विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य र पोषणलाई सुधार गर्न विद्यालय नर्सहरुलाई सम्बन्धित वडाको विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा तथा सचेतना जगाउन विद्यालय नर्स परिचालनको व्यवस्था मिलाएको छु।

७. महिला सशक्तिकरणका लागि सीपमूलक व्यवसायिक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ।

८. बाल अधिकार संरक्षण र प्रवर्द्धनका लागि बालमैत्री स्थानीय शासनको मापदण्डहरु कार्यान्वयनको व्यवस्था मिलाएको छु ।

९. लोपोन्मुख जातिको आर्थिक, सामाजिक, सांस्कृतिक तथा मूल प्रवाहीकरण गर्न विशेष कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

१०.गाउँपालिका क्षेत्रभित्रको विविध जातजातिको भाषा, संस्कृति, परम्परा, भेषभूषा आदिको संरक्षण र प्रवर्धन गर्न बृहत सांस्कृतिक महोत्सव आयोजना गर्न रु. ८ लाख बजेट विनियोजन गरेको छु ।

११. लैङ्गिक तथा घरेलु हिंसा लगायतका सामाजिक विकृतिहरु रोकथाम तथा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।

१२. खानेपानीको एकिकृत व्यवस्थापन र वितरणको लागि “एक घर; एक धारा” कार्यक्रम सञ्चालन गर्न संघ, प्रदेश तथा संघ संस्थासँग समन्वय र साझेदारीबाट विभिन्न खानेपानी आयोजनाहरु सञ्चालन गर्न रु २० लाख बजेट विनियोजन गरेको छु ।

१३. अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा लागू घोषणा कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

१४. प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उत्पादन गर्न सार्वजनिक विद्यालय गुणस्तर सुधार कार्यक्रमलाई निरन्तरता दिएको छु ।

 १५. विद्यालय तहका विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक एवं नेतृत्व विकासमा सहयोग पुर्याउन राष्ट्रपति रनिङ शिल्ड एवं अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको लागि बजेट विनियोजन गरेको छु ।

१६. गाउँपालिका क्षेत्रभित्र नमुना विद्यालय तथा बृहत विद्यालय अवधारणा कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

१७. शिक्षक तथा विद्यालय कर्मचारीको पेसागत विकासका लागि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिएको छु ।

१८.शिक्षक, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको तोकिएको न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि रु २ करोड बजेट विनियोजन गरेको छु ।

१९. जेष्ठ नागरिक स्याहार सुसार तथा सम्मान अन्तर्गत श्रवण कुमार सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु ।

सभाध्यक्ष महोदय एवं उपस्थित गाउँ सभाका सदस्यज्यूहरु,

आर्थिक विकास अन्तर्गत देहायका कार्यक्रम तथा बजेट प्रस्ताव गरेको छु:-

१. पशुपालनको क्षेत्रमा रहेका जोखिम न्युनिकरण गर्न पशु बीमा कार्यक्रमको लागि रु. ५ लाख विनियोजन गरेको छु ।

२. गाउँपालिका क्षेत्रको सीमा नाकामा पशुजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्न पशु क्वारेन्टाइन स्थापना गर्न बजेट विनियोजन गरेको छु ।

३.कृषि तथा पशुजन्य रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।

४. कृषक तथा युवा उद्यमीहरुका लागि उद्यमशीलता प्रवर्द्धनमा जोड दिन ब्याज अनुदान कार्यक्रम निरन्तरता दिन रु. १५ लाख विनियोजन गरेको छु।

५.दुधजन्य र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन व्यावसायिक पशुपालनलाई जोड दिन पकेट क्षेत्र प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिएको छु ।

६. माटोको प्रकृति पहिचान र सुधार गर्न माटो परीक्षण शिविर सञ्चालन कार्यक्रमलाई निरन्तरता दिएको छु ।

७. आर्थिक तथा सामाजिक रुपमा पिछडिएको समुदाय तथा लक्षित एवं विपन्न दलित वर्गको आर्थिक उपार्जनका लागि दलित उत्थान कार्यक्रम सञ्चालन गर्न रु १३ लाख विनियोजन गरेको छु ।

८. लघु उद्यम विकास कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा प्रवर्धनका लागि रु ६ लाख बजेट विनियोजन गरेको छु ।

९. गाउँपालिकाको पर्यटकीय क्षेत्र संरक्षण तथा प्रवर्धनका लागि रु १० लाख रकम विनियोजन गरेको छु ।

सभाध्यक्ष महोदय एवं उपस्थित गाउँ सभाका सदस्यज्यूहरु,

वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत देहायको कार्यक्रम तथा बजेट प्रस्ताव गरेको छुः–

१. राजमार्ग क्षेत्रमा हुनसक्ने दुर्घटना तथा विपदलाई न्युनिकरण गर्न राजमार्ग सुरक्षा कार्यक्रम संचालनको लागि आवश्यक रकम विनियोजन गरेको छु ।

२. गाउँपालिकाको विपद् जोखिम नक्साङ्कनको आधारमा विशिष्ट प्रकृतिका विपद् जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु ।

३. विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि प्रतिकार्य योजनाको आधारमा विपद्को पूर्व तयारीदेखि पुनस्थापनासम्मका कार्य गर्न आपतकालिन खोज, उद्धार तथा राहात कोष र सामाग्रीको व्यवस्थापन गर्न रु ५० लाख विनियोजन गरेको छु।

४. वातावरणमैत्री उद्योग सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने व्यवस्था मिलाएको छु ।

सभाध्यक्ष महोदय एवं उपस्थित गाउँ सभाका सदस्यज्यूहरु,

संस्थागत विकास तथा सेवा प्रवाह अन्तर्गत देहायको कार्यक्रम तथा बजेट प्रस्ताव
गरेको  :-

१. कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरेको छु ।

२. घरको नक्सा पासको लागि महिलाको नाममा घर नक्सा पास गर्दा ५%, दलित महिलाको नाममा घर नक्सा पास गर्दा १०% छुट र दलित पुरुषको नाममा घर नक्सा पास गर्दा ५% छुट दिने व्यवस्था मिलाएको छु ।

३. गाउँ कार्यपालिका अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको मनोबल उच्च बनाई गुणस्तरीय सेवा प्रवाहमा केन्द्रीकृत गर्न कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

४. प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिकाको तर्फबाट सि.सि.टि.भि र सुझाव पेटिकाहरु राख्न रु १० लाख विनियोजन गरेको छु।

५. सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन सामाजिक उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छु ।

६. सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाएको छु ।

७. कार्यसम्पादनमा सुधार तथा पृष्ठपोषण प्रदान गर्न अर्धवार्षिक तथा वार्षिक समीक्षा कार्यक्रमलाई निरन्तरता दिएको छु ।

८. सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न मोबाईल बैंकिङ सेवा मार्फत वडास्तरमै वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिन रु ६ लाख बजेट विनियोजन गरेको छु ।

सभाध्यक्षज्यू एवं उपस्थित महानुभावहरु,

आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गरेको छु। बजेट तथा कार्यक्रमले रोशीको समग्र विकास र उन्नतिको लागि नीतिगत एवं संस्थागत आधार तयार गर्ने अपेक्षा लिएको छु । रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा परिवर्तन, सेवा प्रवाहमा सुदृढीकरण तथा सुशासन प्रवर्धनमा टेवा पुर्याउने विश्वास लिएको छु ।

चालु आर्थिक वर्ष २०८०/८१ मा राजस्वको अनुमानित आय अन्तर्गत संघीय समानीकरण अनुदान २ करोड ६३ लाख (करीव २६%) कटौती भएको र स्थानीय राजस्व वाँडफाँड अन्तर्गत दहत्तर वहत्तर करीव ४ करोड ४० लाख, संघीय राजस्व वाँडफाँड करीव १ करोड २० लाख सहीत करीव ८ करोड भन्दा बढी स्रोत जुट्न नसक्दा चालु आ.व.को स्रोत अनुमान र खर्चमा तालमेल हुन नसकी आगामी आ.व.मा करीव ७ करोड भन्दा बढी भुक्तानी बाँकी राख्नु परेकोले आगामी आ.व.मा अपेक्षित रुपमा विषय क्षेत्रगत र वडागत सिलिङमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको अवस्थाले आम रोशीबासीको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न सकिने बजेट रकम न्यून हुँदा जनताको आवश्यकता र प्राथमिकतामा परेका विकासका क्रियाकलापहरुलाई बजेट तथा कार्यक्रममा समावेश गर्न नसकिएको व्यहोरा विनम्रतापूर्वक अनुरोध गर्दछु । आवश्यकता र प्राथमिकताका साथ जनताबाट र वडास्तरबाट माग भई आएका र आगामी आ.व.को प्रस्तावित बजेट तथा कार्यक्रममा नपरेका आयोजना तथा कार्यक्रमहरुलाई पालिकाको आयोजना बैंकमा समावेश गरी संघीय तथा प्रदेश सरकार र अन्य विकास साझेदारहरुसँग समन्वय र सहकार्य गर्दै श्रोतको व्यवस्था मिलाई संचालन गर्न प्राथमिकतामा राख्ने व्यवस्था मिलाएको छु । साथै आगामी आर्थिक वर्षहरुमा समेत क्रमशः उक्त आयोजनाहरु कार्यान्वयन गर्दै लगिने व्यहोरा समेत अनुरोध गर्दछु ।

सभाध्यक्ष महोदय,

आगामी आ.व. २०८१/८२ को प्रस्तावित बजेट तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि आवश्यक क्षमता विकास, संस्थागत, नीतिगत र कार्यविधिगत सुधारका कार्यहरु गर्ने साथै आवश्यकता अनुसार सरकारी, गैरसरकारी संघसंस्था, निजीक्षेत्र, नागरिक समाज, सहकारी र उपभोक्तासँग समन्वय र साझेदारी मार्फत कार्यान्वयनको व्यवस्था मिलाएको छु । जसबाट बजेट कार्यान्वयनको सुनिश्चितता एवं पारदर्शिता र उत्तरदायित्वको थप प्रवर्धन हुने विश्वास समेत लिएको छु।

अन्त्यमा आगामी आ.व. २०८१/८२ को बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा रचनात्मक सल्लाह सुझाव एवम् सहयोग प्रदान गर्नुहुने गाउँपालिकाका सबै जनप्रतिनिधिज्युहरु, राजनीतिक दलका प्रतिनिधिज्युहरु, गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु तथा सम्पूर्ण कर्मचारीहरु साथै विभिन्न सरकारी तथा गैर सरकारी संघ/संस्थाको प्रतिनिधिज्यूहरु र देश तथा विदेशमा रहनुहुने शुभचिन्तक महानुभावहरु साथै विभिन्न सञ्चार गृह तथा सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी मित्रहरुप्रति गाउँपालिकाको तर्फबाट हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछु।

मिम बहादुर वाईवा (ज्वाला)

उपाध्यक्ष

१० आषाढ, २०८१

रोशीको जय होस् ।

धन्यवाद।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।