तेमाल– विहिबारदेखि परेको अविरल वर्षाका कारण आएका बाढीपहिरोमा परि काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा मात्र १० जनाको निधन भएको छ । पहिरोमा परि ३ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ भने ३ जनालाई सकुशल उद्दार गरिएको छ ।
घट्ना विवरण अनुसार तेमाल गाउँपालिका वडा नं. २ डडेनपाखामा ८ जनाको निधन भएको छ । श्री सर्वोद्धार माविका प्रधानाध्यापक ज्ञान्जा लामाका अनुसार आज विहान १० बजे घर माथिबाट आएको पहिरोले पुरेर एकी घरका ८ जनाको मृत्यु भएको हो ।
प्रधानाध्यापक लामाका अनुसार सोही विद्यालयमा अध्ययनरत २ जना वालिका समेत परेको छ । घट्नामा ७५ वर्षिय सानुमान तामाङ र उनकी ७२ वर्षिय श्रीमती, सानुमानको छोरा ३२ वर्षिय मानजीत लामा र उनकी ३० वर्षिय उनको श्रीमति, कक्षा २ मा अध्ययनरत सानुमानको नातिनी प्रिया तामाङ, वालशिक्षामा अध्ययनरत नातिनी १ जना, २ वर्षिय नाति र जेठो छोरा माइला तामाङको श्रीमति रहेका छन् ।
सो परिवारको अब माइला मात्र बाँच्न सफल भएको छ । उनी गाउँमा घुम्न जाने बेलामा सो घट्ना भएकोले उनी बाँच्न सफल भएको उनले बताए । प्रधानाध्यापक लामाका अनुसार उद्धार गर्नका लागि कुनै बाटो नभएकोले घट्नास्थलमा कोही पनि पुग्न सक्ने अवस्था बताए । ‘चारैतिर पहिरोका कारण घट्नास्थलमा पुग्न सकेको छैन । प्रहरी समेत अहिलेसम्म आइपुगेको छैन ।’ उनले भने ।
त्यसैगरि सोही वडा स्थित लौखानी गाउँकी ७२ वर्षिय डोल्मोरानी तामाङको उद्धार गरिएको छ । राती करिब १ बजे पहिरोले घर पुरेपछि जस्तापाताको सहारामा उनी कराइरहेका थिए । स्थानीयको सक्रियतामा उनलाई राती ३ वजे उद्धार गरिएको थियो । उद्धार कार्य सकिने वित्तिकै आएको पहिरोमा परि घर पूर्णरुपमा ध्वस्त भएको छ भने ५ वटा बाख्रा मरेको प्रधानाध्यापक लामाले जानकारी दिए । सो वडामा लगभग स्थानीय धनराम तामाङ लगायको ६ वटा ढुंगामाटो घर पहिरोले पुरेको छ ।
त्यसैगरि वडा नं. ४ भञ्ज्याङ स्थित वातीटोलमा ४ जना पहिरोमा परेकोमा २ जनाको निधन भएको छ भने २ जनाको सकुशसल उद्धार गरिएको छ । स्थानीय मेघ लामाका अनुसार मृत्यु हुनेमा ज्ञानबहादुर तामाङको श्रीमती वर्ष ५३ को माइली तामाङ र उनको बुहारी रमा तामाङ रहेकी छिन् ।
त्यसैगरि गए राती वडा नं. ७ चापाखोरीमा घर भत्किदा २ जना महिलाको निधन भएको छ ।
यससँगै तेमाल गाउँपालिकामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटना स्थलमा स्थानीय र नेपाली प्रहरी पुगीसकेको र उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























