काठामाडाैं– विपतमा परेकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयमातहत विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि विपत्का वेला गृहमार्फत नै खटिने गर्छन् । तर, शुक्रबार र शनिबार परेको भीषण वर्षा र त्यसपछि आएको बाढीपहिरोबाट भएको जनधनको क्षति न्यूनीकरणमा यी कुनै पनि निकाय प्रभावकारी देखिएनन् । याे समाचार आजाकाे नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
ज्वलन्त उदाहरण ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएको रौतहटका राजु साहको परिवार हुन् । सुगम टोलमा ४३ बर्षीय साह केही बर्षदेखि जस्ताको टहरो बारेर ग्रिल कारखाना चलाउँदै आएका थिए । ग्रिलसँगै उनले कवाडखाना पनि चलाउँदै आएका थिए । सोही कारखानामा उनी छोरी ६ बर्षीया मेघना साह, भाई २२ बर्षीय राज साह र भतिजी ४ बर्षीया शेर्तु साहसहित बस्दै आएका थिए । कारखाना छेउहुँदै बग्ने नख्खु खोलामा शुक्रबार रातभर भिषण बाढी आयो । उनी रातभर जागै बसे । शनिवार बिहानसम्म पनि बर्षा रोकिएन । खोलाको सतह अझ उर्लिएर आयो । हेर्दाहेर्दै कारखानालाई बढीले ढाक्यो । ज्यान जोगाउन बिहान ५ बजेतिर सबैजना टहराको छानामाथि चढे । आसपासका छिमेकीसँग उद्धारका निम्ति आग्रह गरे । बाढी ठुलो थियो । स्थानीयले उद्धारका निम्ति बाढीमा छिर्ने आँट गर्न सकेनन् । तर, प्रहरीलाई तत्काल फोन गरे । पटक–पटकको आग्रहपछि करिब ७ बजेतिर सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो । तर, उनीहरूसँग उद्धारका निम्ति कुनै सामग्री थिएन ।
सशस्त्र प्रहरीको टोलीले तरकारी बोक्ने क्यारेटमा डोरी बाँधेर टहरातर्फ फ्याँके । तर, क्यारेटलाई भेलले हुत्यायो । हेर्दाहेर्दैै जस्ताको टहरा बाढीले भत्कायो । उद्धारको पर्खाईमा टहरामाथि बसेका साहका परिवार भेलमा खसे । घटना नियालिरहेका सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्ण केसी गुहार माग्दै भेल बग्ने किनारैकिनार दौडिए । भेलमा बगेका एक जनालाई उद्धार गरे ।
काभ्रेका तेमाल– ९ चाेपाटारका ३३ बर्षीय चाणिकलाल तामाङले पनि भेलमा बग्दै गरेका साहका परिवारलाई देखे । उनी पनि भेलमा पसे । २२ बर्षीय राज साह र उनकी छोरी ६ बर्षीया मेघना साहलाई सकुशल उद्दार गर्न सफल भए । भेलमा बगेकी ४ बर्षीया शेर्तु साह भने अझै बेपत्ता छिन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले नक्खुको बढीमा फसेकाहरूको उद्धार गर्न ढिला भएको स्वीकार गरे । उनले भने, ‘नख्खुको बाढी पीडितलाई समयमा नै उद्धार गर्न नसकिएकै हो । सशस्त्रका टोली घटनास्थल पुगेका रहेछन् । उद्धार गर्न जाँदा उनीहरू घाइने भएछन् । त्यसो हुँदा उद्धार कार्य प्रभावकारी भएन । कम भिजिविलिटि हुँदा हेलिकोप्टर पनि चलाउन सकिएन र उद्दार समयमै हुन सकेन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























