धुलिखेल– विहीबारदेखिको अबिरल बर्षाका कारण विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको हेलिकप्टरद्वार उद्धार गरिने भएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टरले पानी, खाद्यानहसहितका राहत सामग्री बोकेर त्यसतर्फ उडेको छ ।
हिजो साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भएपनि सफल हुन सकेको थिएन । खाद्यान्न सहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनःधुलिखेलमा फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए ।
त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको उनले बताए । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनीमध्ये विरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिने छ ।
उनीहरुलाई धुलिखेल र भकुण्डेमा ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय सरणमा बसेका छन् । रोशीमा एघारको मृत्यु भएको छ ।बुधबारदेखि परेको पानीले विपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर विपी राजमार्ग बगाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























