तेमाल– अविरल वर्षाका कारण पहिराेबाट घाइते भएका काभ्रे जिल्ला तेमाल गाउँपालिकाका ७ जना घाइतेहरुकाे उद्धारका लागि प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दाेङ (लालध्वज) आफै पुगेका छन् । आज करिब ३ बजेकाे समयमा नेपाली सेनाकाे हेलिकाेप्टर सहित सांसद लालध्वज तेमाल पुगेका हुन् ।

तेमालकाे ३ स्थानबाट घाइतेहरुकाे उद्धार गरिएकाे थियाे । वडा नं. ५, वडा नं. ४ र वडा नं. २ मा गरी ७ जना घाइतेहरुलाई धुलिखेल ल्याएकाे थियाे । घाइतेहरुकाे धुलिखेल सामुदायिक अस्पतामा उपचार भइरहेकाे छ ।

यसेबीच घाइतेहरुकाे उद्धार गर्नका लागि गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थाेकर पनि उद्धारकाे लागि हिजैदेखि तयारी गरेपनि बाटाे अवराेध भएकाे कारण घट्नास्थलमा पुग्न नसकेकाे बताएका छन् । ‘हामी हिजैदेखि जानका लागि तयारी गरेका थियाै‌ । उद्धारकाे लागि सुरक्षा निकाय, प्रदेश र संघीय सांसदज्यूहरुसँग समन्वय गरेका थियाैं’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘हामी घट्नास्थलमा पुग्न सक्ने अवस्थामा थिएन । यतै बसेर सबै व्यवस्थापन गर्न तिर लाग्याैं ।’

काभ्रेमै बढी मानवीय क्षति भएकाे प्रति गाउँपालिका अध्यक्ष तामाङले दुःख व्यक्त गरे । समग्र याेजना बनाएर मात्र गाउँ जाने याेजना बनाउँदै गरेकाे उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।