खानीखाेला– काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ (छिन्ताङ) अविरल वर्षाका कारण आएकाे बाढीपहिराेबाट प्रभावित गाउँटाेलमा राहतका साथमा उद्धार गर्न आफै खटेका छन् ।
बाढीपहिराेकाे अति प्रभावित वडा नं. ५ र ६ मा गाउँपालिकाकाे टाेली नै लिएर अध्यक्ष थिङ टाेलबस्तीमा पुगेका हुन् । अध्यक्ष थिङले पालिकामा भएकाे क्षति विवरणकाे समेत सार्वजनिक गरेका छन् ।
१ जनाकाे मृत्यु २६ घर आवास विहिन
अध्यक्ष थिङले जारी गरेकाे क्षति विवरण अनुसार असोज १० गतेदेखि १२ गतेसम्म लगातार परेको भिषण वर्षाको कारण प्राकृतिक प्रकोपबाट हालसम्मको विवरण अनुसार खानीखोला- ६ निवासी देवी माया सिंतानको बागमती नदिले बगाएर मृत्यु भएको छ ।
त्यस्तै गाउँपालिका भरी बागमती नदिको किनारामा रहेको बस्ती वडा नं. ६ स्थित चनौटेमा ८ घर, वडा नं. ५ स्थित सिक्रेदोभानमा १० घर र पहिरोले पुरिएर वडा नं. ७ मा ३ घर, वडा नं. २ मा २ घर, वडा नं. १ मा ३ घर गरी जम्मा २६ घरका परिवारहरू आवासविहीन भएका छन् । उनीहरुकाे उद्धार गरि राहत वितरण कार्य समेत भइरहेकाे उनले जानकारी दिए ।
यी संरचनाहरु भए ध्वस्त
थिङका अनुसार यस क्रममा सयौं रोपनी खेतवारी, ३० वटा भन्दा बढी खानेपानीको संरचना, २० वटा भन्दा बढी सिंचाई तथा पानीघट्टको कूलोहरू विनाश भएका छन् । बागमती नदीले मकवानपुर जोड्ने चनौटे-फार्सा र महाङ्कालको झोलुङ्गे पुल बगाएको छ भने दर्जनौको संख्यामा गोठहरू भत्किएका छन् । गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड्ने एवं प्रदेश तथा जिल्ला सदरमुकाम जोड्ने सबै सडकहरू पूर्ण रूपले क्षति भई आवत-जावत बन्द भएको छ ।
बागमती नदी तथा पहिरोको कारण दर्जनौ विद्युतको पोलहरू बगाउनुका साथै क्षतविक्षेत अवस्थामा रहेकोले विद्युत आपुर्ति पूर्ण रूपले बन्द छ साथै वडा नं. ६ स्थित थुम्किमा रहेको एकमात्र नेपाल टेलिकमको टावर सम्म नेटवर्क सप्लाई अवरुद्ध भएर यस गाउँपालिका संचार विहीन अवस्थामा रहेको छ ।
यसैबीच गाउँपालिकाको जनप्रतिनिधिहरू, कर्मचारीहरू एवं स्थानीय सुरक्षाकर्मीहरूद्वारा पीडिति नागरिकहरूको उद्धार गरी प्रारम्भिक राहतको बन्दोवस्त समेत भईरहेको र क्षतिको थप विवरण संकलन गर्ने कार्य तिव्र रूपले भईरहेको छ अध्यक्ष थिङले जानकारी दिए ।
विपदको यस घडीमा थप मानवीय क्षति हुनबाट बचाउन र अप्ठ्यारामा परेका नागरिकरहरूलाई उद्दार गर्नका लागि सरकार, राजनीतिकदलहरू, बुद्धिजीविहरू र आम नागरिकहरूको समेत अहम भूमिका हुन जाने भएकोले समस्तमा आपसी सहयोग र सदभावसहित हातेमालोको लागि समेत उनले अपिल गरेका छन् ।
स्ठलगत अनुगमनका लागि अध्यक्ष थिङका साथै प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाल , प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल, ईन्जिनियर जिवनराज अर्याल, शाखाका प्रमुखहरु लगाएत पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























