बनेपा– नेकपा (माओवादी केन्द्र) काभ्रेले १ सय ३५ वटै वडामा राहत र उद्धारमा प्रभावकारी ढंगले लाग्ने निर्णय गरेको छ । आज बसेको पार्टीको प्रदेश कमिटी सदस्यहरु सहभागी बैठकले सो निर्णय गरेको हो ।

बैठकले विहिबारदेखिको अविरल वर्षाका कारण निधन भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समेवदना प्रकट गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

पिडितहरुलाई धैर्यधारण गर्न अनुरोध गर्दै पार्टीको तर्फबाट गर्न सक्ने सबै प्रकारको सहयोगमा जुट्ने प्रतिबद्धता समेत बैठकले गरेको जिल्ला संयोजक भोला अर्यालले जानकारी दिए । ‘अविरल वर्षाका कारण ह बाढीपहिरोबाट काभ्रेमा धेरै धनजनको क्षति भएको छ । एकै घरका धेरै जनाले ज्यान गुमाएको छ । धेरै जना घाइते भएका छन् । करोडौंको सम्पत्ति क्षति भएको छ ।’ उनले भने, ‘जनताले अनुभूति हुनेगरि शुरुदेखि नै हामी लागिरहेका छौं । अब वर्षा रोकिएको छ । अब उद्धार र राहत पुर्‍याउन हामीलाई सहज हुनेछ । पार्टीको सबै तहलाई जनताको साथमा रहन र आवश्यक सहयोग गर्न निर्देशन दिएका छौं ।’

सरकार उद्धार र राहतमा उदासीन देखिएको बताउँदै संयोजक अर्याललय जनता प्रति जिम्मेवार बन्न सरकारलाई अनुरोध समेत गरे । यसैबीच बैठकले आगामी दशैं तिहारमा पार्टीले कुनैपनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना नगर्न र सो कार्यक्रममा लाग्ने खर्च बरु राहतकोषमा जम्मा गर्न समेत निर्देशन दिएको उनले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, प्रदेश सभा सदस्य रत्न ढकाल, रुकु चौंलागाईं, पार्टीको केन्द्रिय सदस्य दिननाथ गौतम लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।