धुलिखेल– अपहरण, फिराैती रकम असुल गरी हत्या गरेकाे आराेपमा काभ्रे प्रहरीले १ जना महिला सहित ५ जना पक्राउ गरेकाे छ । काठमाडौँ कीतिपुरका ५० वर्षीय विनोद खड्गीको अपहरण गरी हत्या गरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई आज जिल्ला प्रहरी कार्यालय, काभ्रेले सार्वजनिक गरेको हाे ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष २१ की मनिसा महत, काठमाण्डौ जिल्ला शंकरापुर नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को सरिन घिमिरे, महोत्तरी जिल्ला गौशला नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २० को आशिष पासवान, काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वडा नं. ५ बस्ने वर्ष २१ को रिकेश पौडेल, र बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौं कोटेश्वर महादेवस्थान बस्ने वर्ष १९ को प्रतिक गौतम रहेका छन् ।

प्रतिवादीहरुले मृतक विनोद खड्गीलाई अपहरण गरी फिरौती रकम पाँच लाख रुपैयाँ समेत लिई हात‚ खुट्टामा डोरीलो बाँधी क्रुरता पूर्वक संवेदनशिल अङ्ग लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आए जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले जानकारी दिए । उनीहरुलाई प्रहरीले असोज ८ गते गते पक्राउ गरिएको उनले बताए । खड्कीकाे शव पाँचखाल नगरपालिका- ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा असोज ६ गते भेटिएकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।