तेमाल– काभ्रे जिल्लको तेमाल गाउँपालिकाको मुख्य सडक भकुण्डे–मेच्छेपौवा सडक सूचारु भएको छ । अविरल वर्षाका कारण अवरुद्ध सो सडक आजबाट सूचारु भएको हो ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनस्र्थापनाको लागि सडक सञ्जाल आवश्यक परेकोले सडकलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । विहिबारबाट तेमाल गाउँपालिकाको सडकमा रहेको अबरोध हटाउन थालेकोमा आज भने मेच्छेपौवामा पुगेको छ । गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष थोकर आफै डोजर लिएर सडकमा पुगेका थिए ।
हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं नजिकिदै गरेको बेला भएको प्राकृतिक विपत्तिका कारण तेमालबासीले चिन्ता लिएका थिए । तर गाउँपालिकाले सचेतपूर्वक बाटो खुलाउने पहल गरेपछि तेमालबासीको चिन्ता क्रमशः हट्दै गएको गाउँपालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार अब प्रत्येक वडा र टोल जोड्ने सडक सञ्जालको अबरोध पनि हटाउँदै लाने र दशैं अगाडि जति सकिन्छ घर जानका लागि सहज वातावरण बनाउने जानकारी दिए । गाउँपालिकामा सडक, बत्ति र दूरसञ्चारमा समस्या भएकोले जनताको समस्या समयमै थाहा पाउन र समाधान गर्न गाह्रो भएको उनले जानकारी दिए । ‘सडक, बत्ति र दूरसञ्चारको समस्याले जनता र हामी बीचमा जोड्न सेकन । यो विपतमा हामीलाई निक्कै चिन्तित बनायो ।’ अध्यक्ष तामाङले भने, ‘अब यी तीनै वटा समस्यालाई एकसाथ समाधान गर्ने र बाढीपहिरो प्रभावित क्षेत्रमा के–के गर्नुपर्ने हो सबै बुझेर हामी अगाडी बढ्छौं ।’
यसैबीच सडक सञ्जाल, विजुली बत्ति र दूरसञ्चारको समस्या समाधान गर्नका लागि सबै वडा अध्यक्षहरु समेत लागिरहेको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । आफू हिंडेरै तेमाल–२ को घट्नामा पुगेको बताउँदै यो पटक जनताको नजिक बसेर समस्या बुझ्न पाएको बताए । अब आफूहरु तीव्र गतिमा राहत, पनस्र्थापना तथा व्यवस्थापनमा लाग्ने थोकरले जानकारी दिए । ‘अब लगभग तेमालको मुख्य सडक सूचारु भएको छ । अब हामी बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, पुनस्र्थापना लगायतका काम गर्नेछौं ।’ उनले भने ।
तेमाल गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाले ज्यान गुमाएको छ भने र २ जना अझै बेपत्ता छन् । जस अनुसार वडा नं. १ मा २ जनाको मृत्यु, वडा नं. २ मा ६ जनाको मृत्यु र २ जना बेपत्ता, वडा नं. ४ मा २ जनाका मृत्यु र वडा नं. ७ मा २ जनाको मृत्यु भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























