पनाैती–  पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गाेकुल बाँस्काेटा बाढीपहिराे गएकाे एक हप्ता पछि प्रभावित क्षेत्रमा पुगेका छन् । चारैतिरबाट आलाेचना आउन थालेपछि सांसद बाँस्कोटा  पनौती-१, ११, १२ र बेथानचोक-४ लगायत बाढी-पहिरोबाट अति प्रभावित क्षेत्रमा आज पुगेका हुन् ।

पूर्वमन्त्री बाँस्कोटाले एमाले काभ्रे अध्यक्ष राजन भुर्तेलसहितको टोली साथमा लगेर एक हप्ता पछि पिडितहरुलाई सहानुभूति दिन साे क्षेत्रमा पुगेका थिए । साे क्रममा बाढी र पहिरोका कारण उत्पन्न समस्याको स्थलगत अनुगमन गर्दै प्रभावित क्षेत्रका बासिन्दासँग कुराकानी गरिएकाे थियो। बाँस्काेटासँग बाढीपहिराे प्रभावित क्षेत्रका स्थानीयले कुनैपनि जनप्रतिनिधिहरुले आफूहरुकाे समस्या नबुझेकाे गुनासाे गरेका थिए ।

बाँस्काेटाले बाढी र पहिरोले पुर्‍याएको भौतिक र मानवीय क्षतिको मूल्यांकन गर्दै, तत्काल राहत र पुनःस्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रभावित क्षेत्रका स्थानीय जनताको कठिनाई र तत्कालीन आवश्यकताबारे जानकारी लिएपछि बाँस्कोटाले पुनर्निर्माण र राहतका लागि संघीय सरकारसँग समन्वय गर्ने बताए।

साे क्रममा एमाले काभ्रे अध्यक्ष भुर्तेलले बाढी-पहिरो पीडितका लागि पार्टीको तर्फबाट सक्दो सहयोग र समर्थन जुटाइने प्रतिवद्धता जनाए। टोलीले प्रभावित क्षेत्रका जनतालाई संयमता अपनाउँदै पुनर्निर्माण र राहत प्रयासमा सबैले हातेमालो गर्न आग्रह गरेका थिए ।

यस अघि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय सांसदद्वय सूर्यमान दाेङ, मिना तामाङ, प्रदेश सभा सदस्यद्वय रत्न ढकाल र रुकु चाैंलागाईंकाे टाेली साे क्षेत्रमा पुगेर प्रभावित क्षेत्रका जनताकाे अवस्था बुझेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।