धुलिखेल– बीपी राजमार्ग आजबाट एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाको प्रयत्नमा आजबाट एकतर्फी खुलाउन सफल भएकाे हाे ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्‍याएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । त्यसका लागि नेपाली सेना सहितका सुरक्षाकर्मी, भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागका प्राविधिक कर्मचारी तथा स्थानीय पालिकाहरुले अग्रसरता लिएका थिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको छ । कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने विश्वास छ ।

राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरूपमा क्षति गराएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।