चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताका छन् । नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताउँदै उनले आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको र अब त्यो विन्दु आएको बताए ।
अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र याेद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए ।
उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए । उहाँजस्तै हजारौं यौद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन उर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उहाँहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताए ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























