धुलिखेल– काभ्रे जिल्लाको १३ वटा स्थानीय तह मध्य १२ वटा स्थानीय तहका १ सय ७९ वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख देवका ढकालका अनुसार १३ पालिकामध्ये महाभारत बाहेक सबै स्थानीय तहका विद्यालयमा क्षति पुगेको हाे ।

ढकालका अनुसार धेरैजसो विद्यालय पूर्ण रूपमा क्षति भएकाे र केही विद्यालयमा छाना खस्ने, विद्यालयको घेरा पर्खाल, घेराबार, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेको, खेलकुद मैदान क्षति, शौचालय र खानेपानीमा समेत क्षति पुगेको छ ।

जिल्लाको रोशी गाउँपालिकामा २९, चौरीदेउराली गाउँपालिकामा २८, बेथानचोक गाउँपालिकामा २६, धुलिखेल नगरपालिकामा १८, पनौती नगरपालिकामा १८, नमोबुद्ध नगरपालिकामा १४, पाँचखाल नगरपालिकामा १२, भुम्लु गाउँपालिकामा १०, मण्डनदेउपुर नगरपालिकामा ९, तेमाल गाउँपालिकामा ७, खानीखोला गाउँपालिकामा र बनेपा नगरपालिकामा ४ विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको उनले जानकारी दिए ।

अझै पनि कतिपय विद्यालय छुटेको हुन सक्ने र आ–आफ्नो स्थानीय तहमा रहेका विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको उनले बताए ।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।