धुलिखेल– काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं. ५ का बीरबहादुर तामाङको जग्गामा रहेकाे बुद्धचित्त माला लुट्ने र मालाकाे रुख नै काट्ने मुख्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. मिन बहादुर घलेका अनुसार गत असाेज १० गतेका दिन उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाँउपालिका वडा नं. ०५ बस्ने फुर्तीलाल मैनालीको नाती देबी प्रसाद मैनाली र अम्बिका मैनालीको छोरा बर्ष ४१ को सागर भन्ने रामकृष्ण मैनाली, रोशी गाँउपालिका वडा नं. ०५ बस्ने बुद्धिनाथ हुमागाईको नाती उद्धब प्रसाद हुमागाई र सरस्वती हुमागाईको छोरा बर्ष २७ को बिजय हुमागाई र काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नं.०१ बस्ने सान्मान सिंह गोलेको नाती, जगत बहादुर गोलेको छोरा वर्ष ४६ को गोले भन्ने प्रताप सिंह गोले रहेका छन् ।

सूचना अधिकारी घलेका अनुसार उनीहरु डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना अपराधको फरार प्रतिवादी हुन् ।

उनका अनुसार मिति २०८०।१२।३० गते बिहान राती अं. १:०० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. ५ नागबेली स्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको बोट अपरिचित १५/२० जना मानिसहरुका समुह आई विष्फोटक पदार्थ समेत प्रयोग गरी, ठाकुरानी तामाङको घरको ढोका तथा आँगनमा ४ वटा सकेट बम राखी सो रुख काटी, नजिकै जनमुक्ती सेना लेखेको पर्चा समेत छाडी उनीहरु भागेका थिए । यसैगरी

२०७७।०३।११ गतेका दिन राती ११ः१५ वजेको समयमा राेशी गाउँपालिका वडा नं. ५ स्थितमा बिर बहादुर तामाङ समेतको जग्गामा रहेको बुद्धचित्तको रुख कुरी बसेका कुरुवाहरुलाई मैनाली र गाेलेकाे नेतृत्वमा ४०/४५ जना मानिसहरुको समुहले धारिलो हतियार र बन्दुक समेत लिई आई ज्यानै मार्ने किसिमले धारिलो हतियार प्रहार गरी बन्दुक समेत पड्काई विष्फोट समेत गरी जबरजस्ती उक्त बुद्धचित्तको दाना डाँका गरी लगेको प्रहरीलाई दिएकाे जाहेरीमा उल्लेख रहेकाे छ । साथै साेही मालाकाे रुख काटेकाे मुख्य आराेपी पनि मैनाली नै हुन् ।

तत्कालको समयमा पक्राउमा परी आएको प्रतिवादी काले भन्ने राधाकृष्ण मैनाली समेतलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०७७।०६।२७ गतेको आदेशले पुर्पक्षको लागी कारागार चलान भएको र वारदातमा संलग्न भई फरार रहेको प्रतिवादीहरु गोले र मैनालीको हकमा  काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट मिति २०७७।०५।१६ गते पक्राउ अनुमती प्रहरीले प्राप्त गरेकाे थियाे ।

प्रहरीका अनुसार खोजतलास गर्दै जाने क्रममा यस कार्यालयबाट खटि गएको प्रहरी अधिकृतको टोलीले मिति २०८१।०७।१० गते प्रतिवादी सागर भन्ने रामकृष्ण मैनालीलाई पक्राउ गरी मिति २०८१।०७।११ गते काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा उपस्थित गराएकोमा मिति २०८१।०७।१२ गते सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय काभ्रेमा पठाएको  छ । यसैबीच अर्का प्रतिवादी गोले भन्ने प्रताप सिंह गोलेलाई मिति २०८१।०७।११ गते पक्राउ गरी मिति २०८१।०७।१२ गते अदालतमा  उपस्थित गराईएकोमा अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

गाेले विप्लब नेतृत्वकाे नेकपाका वागमती प्रदेश कमिटी सदस्य हुन् भने मैनाली आफ्नै नेतृत्वमा गठन भएकाे भनिएको नेकपा (माओवादी)काे नेता हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।