विराटनगर महानगरपालिका– ७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारीको आठ करोड ठगीमा अध्यक्ष अमलेश कर्ण कारागारमा छन् । तर, उक्त सहकारीमै दुई कार्यकाल सञ्चालक सदस्य रहेका कांग्रेस युवा संगठन तरुण दल मोरङका पूर्वअध्यक्ष प्रभाकर थापाले भने उन्मुक्ति पाएका छन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
माछापुच्छ्रे सहकारी ठगीमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । तर, राजनीतिक शक्तिका आडमा उनलाई पक्राउ गर्न नसकिएको प्रहरी स्रोत बताउँछ । थापा कांग्रेस महामन्त्री गगन थापानिकट हुन् । हाल कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री छन् । फरार रहेको भनिएका थापा कांग्रेसका उच्च नेताहरूसँग नियमित सम्पर्कमै रहेको स्रोत बताउँछ ।
पक्राउ परेका कर्ण भने जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै मोरङ कारागार चलान भएका थिए । उनी ०७४ मा विवेकशील साझा पार्टीको तर्फबाट मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा ०७९ को स्थानीय तह निर्वाचनमा सोही पार्टीबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले माछापुच्छ्रे सहकारी ठगी मुद्दामा पुरानो सञ्चालक समिति, नयाँ समिति, ऋणी र केही अडिटर गरी १२२ प्रतिवादी रहेको बताए । ‘पक्राउ परेका कर्णलाई जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी जिल्ला कारागार मोरङमा छन् । बाँकी अभियुक्त फरार छन्,’ उनले भने, ‘पक्राउ नपरेकाको नाम पनि मिसिलमा समावेश भएर गएको छ । फरारको खोजी भइरहेको छ ।’
माछापुच्छ्रे सहकारीले बचतकर्ता ठगेको भनेर तीन वर्षअघि नै कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । कार्यालयका सूचना अधिकारी मनोज कार्कीका अनुसार कार्यालयले छानबिन समिति बनाएर अध्ययन पनि गरेको थियो । अध्ययनमा आठ करोड आठ लाख हिनामिना भएको भेटिएको सूचना अधिकारी कार्कीले बताए । ‘यो प्रारम्भिक अध्ययनमा देखिएको हो,’ उनले भने, ‘सहकारी चार करोड नोक्सानमा रहेको देखिन्छ ।’
उजुरी परेलगत्तै पटक–पटक छलफल गर्दा र पत्र काटेर ताकेता गर्दा पनि बचतकर्ताको बचत फिर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङलाई मुद्दा प्रक्रिया अघि बढाउन २० जेठ ०८० मा पत्र काटिएको उनले बताए । प्रहरीले अनुसन्धानका क्रममा लेखाविज्ञसमेत मागेकाले ११ असोजमा रजिस्ट्रारको कार्यालयले पत्र पठाएको बताए । ०५७/५८ दर्ता भएको यो सहकारीमा ९०५ सेयर सदस्य रहेको प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ । सूचना अधिकारी कार्कीका अनुसार यो सहकारीमा विगतदेखि नै बचतकर्ताको बचत हिनामिना भएको देखिएको थियो । त्यसैले, वर्तमान र पूर्व दुवै समितिलाई अनुसन्धानको दायरामा ल्याउन पत्र लेखिएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।