राेशी– गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछि आएको बाढी र पहिरोले काभ्रे जिल्लाकाे राेशी गाउँपालिकाको क्षति विवरण प्राप्त भएकाे छ । प्रत्येक वडामा भएको संकलन विवरण अनुसार राेशीमा ४ सय ८२ घरमा पूर्ण क्षति भएको छ भने ८ सय ५३ घरमा आंशिक क्षति भएको छ ।
कार्तिक १४ गते रोशी गाउँपालिका विपद व्यवस्थापन समितिको बैठकले वडाबाट प्राप्त भएको विवरणलाई स्वीकृत गरेका छन् । वडाले पठाएको तथ्यांक अनुसार बाढी र पहिरोले पूर्ण क्षति र आंशिक क्षति गरि जम्मा एक हजार ३ सय ३५ घरमा क्षती पुर्याएको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक दिनेश लामाले जानकारी दिए । त्यसरी नै २ हजार ५ सय ४४ घरपरिवारको खेत बारीमा पनि बाढी पहिरोले क्षती पुर्याएको लामाले बताए ।
उक्त बाढी र पहिरोले विद्यालयहरु ६ वटा पूर्ण र ४१ वटा आंशिक क्षती पुर्याएको, स्वास्थ्य संस्था २ वटा पूर्ण ४ वटा आंशिक, झोलुङ्गे पुल ५ वटा पूर्ण र एक वटा आंशिक, पक्की पुल एक वटा पूर्ण र एक वटा आंशिक, सडक १ सय ८ किलोमिटर पूर्ण,खानेपानी आयोजना १ सय ६० वटा, डम्फू पार्क, औद्योगिक ग्राम, १० बेडको अस्पताल, सार्वजनिक चिस्यानकेन्द्र पूर्ण क्षति भएको अध्यक्ष लामाले जानकारी दिए ।
अझै विवरण छुट भएको हुन सक्ने लामाको भनाइ छ । छुट भएको विवरण फेरि संकलन गर्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।