धुलिखेल– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ३ स्थित भञ्ज्याङ निवासी माईली लामाको हत्या आफ्नै कान्छाे छोराले गरेकाे प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज पत्रकार सम्मेलन मार्फत आमाको हत्या आरोपमा आफ्नै कान्छाे छोरालाई पक्राउ गरेकाे जानकारी दिएकाे हाे ।

६९ वर्षीय माईलीको शव यही कात्तिक १६ गते दिउँसो ४ बजेर १५ मिनेटमा घरको भान्सा कोठामा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार माईलीका आफ्नै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले हत्या गरेका हुन् । फुर्साङले भान्सा कोठामा सुतिरहेकी आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभमा मसला पिस्ने सिलौटो र ढुङ्गाको लोरोले टाउकोमा प्रहार गरेका थिए । अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै रहेको ढोकाको आग्लोले प्रहार गरी मृत्यु भएपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फुर्साङ भागेका थिए ।

प्रहरीले फुर्साङलाई १८ गते नै पक्राउ गरेको थियो । आज काभ्रेपलाञ्चोक जिल्ला अदातलतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।