बनेपा– नेकपा (माओवादी केन्द्र)सँग आबद्ध शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेको मुखपत्र ‘शिक्षक आवाज’ विमोचन गरिएको छ । आज माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङले एक समारोहका बीच विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले शिक्षा क्षेत्रमा भएको समस्याहरु समाधान गर्न क्रान्तिकारी शिक्षकहरु अग्रपंक्तिमा रहेर अघि बढ्नुपर्नेमा जोड दिए । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकोले यसमा कोही कसैले सामान्य रुपमा लिन नहुने उनले बताए । मुलुकमा भएको ठूला ठूल परिवर्तनमा मुख्य भूमिका शिक्षकको रहेको स्मरण गर्दै अब शैक्षिक सुधारको आन्दोलनमा पनि शिक्षकहरुको भूमिका अहंम हुनुपर्ने उनले बताए ।
यसैबीच माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सांसद गंगाबहादुर तामाङले शिक्षकहरु पेशागत हकहितको लागि पार्टीले कुनैपनि कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे । शिक्षा क्षेत्रलाई क्रान्तिकारी शिक्षकहरुले मात्र सुधार्न सक्ने पार्टीको विश्वास रहेको बताउँदै अबको अभियान शैक्षिक सुधार र शैक्षिक उपलब्धिको अभियान रहेको बताए ।
कार्यक्रममा पार्टीका प्रदेश किमटी सचिव ईन्द्रबहादुर थिङ, जिल्ला सचिव दैवलाल घिसिङ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य पदमप्रसाद तिमल्सिना, मजदुर नेता राजन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु मिना तामाङ, तेजबहादु मिजार, कृष्ण अधिकारी, जिल्ला संयोजक भोला अर्याल, प्रदेश सचिवालय सदस्य डिएम लामा लगायतका सहभागी थियो ।
कार्यक्रम संगठनका अध्यक्ष चेत लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।