काठमाडाैं– मानव तस्करीमा मुछिएका कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री तथा सांसद लीलाबल्लभ अधिकारीलाई नेकपा एमाले कोशी प्रदेश समितिले निलम्बन गरेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रहँदा पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गरेको आरोपपछि निर्वतमान मन्त्री तथा प्रदेश सांसद अधिकारीलाई एमाले प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।
‘पूर्वमन्त्री तथा सांसद अधिकारीमाथिको आरोपमा छानबिन नसकिएसम्मका लागि उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त्त गरेका छौँ,’ शनिबार विज्ञप्ति जारी गर्दै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जनाएका छन्।
एमाले निरन्तर कानुनी शासनको पक्षमा उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै विज्ञप्तिमा मानव तस्करीको गम्भीर आरोपको छानबिन र अनुसन्धानमा बाधा नपुगोस् भनेर अधिकारीलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको बताइएको छ।
मोरङको २ नम्बर क्षेत्रको (ख)बाट निर्वाचित एमाले सांसद अधिकारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा संगठित सदस्य थिए।
जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय लीलाबल्लभ अधिकारीले मन्त्रीको हैसियतमा केही दिनअगाडि वैदेशिक भ्रमणसम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गर्नुभएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट हटाइसकिएको छ।’
मानव तस्करीको आरोप लागेपछि जापानबाट फर्किएलगत्तै मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्न भन्दै पार्टीको प्रदेश कमिटीमा अनुरोधपत्र बुझाएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























