बेथानचाेक– नेकपा (माओवादी केन्द्र ) बेथानचोक गाउँपालिका कमिटीले गाउँपालिकालाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएकाे छ । विहिबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई साे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) बेथानचोक गाउँपालिकाका ईन्चार्ज मर्दन सिं तामाङ(पेमा) का अनुसार गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण भएका क्षति विवरण, पीडितहरुको वास्तविक पहिचान गरी राहत तथा पुनर्वासको प्रारम्भिक डाटा समेत एकिन नभएको र पीडितहरु झनै पीडित भएको भन्दै जिम्मेवार भएर अगाडी बढ्न अनुराेध गर्दै साे ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षणपत्रमा दलीय आस्थाको आधारमा पहुँच पावरको आडमा नातावाद, कृपावादकाे आधारमा व्यबहार गरिएकाे आराेप छ ।
के छ ९ बुँदे ध्यानाकर्षण पत्रमा ?
मिति: २०८१/०८/१३
श्रीमान् अध्यक्षज्यू
बेथानचोक गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
दुखर्क, काभ्रेपलाञ्चोक ।
विषयः ध्यानाकर्षण पत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस बेथानचोक गाउँपालिकामा मिति २०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण भएका क्षती विवरण, पिडितहरूको वास्तविक पहिचान गरी राहत तथा पुनर्वासको प्रारम्भिक डाटा समेत एकिन नभएको र पिडित भने पिडित महशुस भएको कतिपय दलीय आस्थाको आधारमा पहुँच पावरको आडमा नातावाद, कृपावाद समेत हावी गराई कामकार्यवाही भएको सूचना वाहिरिएको परिस्थितिलाई मध्यनजर गर्दै हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बेथानचोक गाउँपालिका समिति यस ध्यानाकर्षण पत्र मार्फत् गम्भिर आपत्ती प्रकट गर्दै बेथानचोक गाउँपालिका स्थानीय सरकारलाई प्राकृतिक प्रकोपबाट भएका भौतिक संरचना, धनजनको क्षती र यी सबै घटनाक्रमहरूको सत्यतथ्य यथासिघ्र सर्वदलीय संयन्त्र समिति निर्माण गरी छिटो भन्दा छिटो पिडितलाई न्याय, अस्थाई आवास, पुर्ननिमार्ण, पुर्नउत्थान र पुर्नलाभको लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन ठोस योजना निर्माणमा लाग्न हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) बेथानचोक पार्टी समितिको तर्फबाट ध्यानाकर्षण पत्र मार्फत् स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदा छ।
ध्यानाकर्षण पत्र मार्फत् उल्लेखित बुँदाहरु यस प्रकार छन्:-
१. बेथानचोक गाउँपालिकाको दिर्घकालिन योजना तथा पुर्नसंरचना, पुर्ननिमार्ण, पुर्नउत्थान र पुर्नलाभ कार्यक्रम अघि बढाउन सर्वदलीय सर्वपक्षीय सबै सरोकारहरूसँग छलफल तथा अन्तर्क्रिया गरी ठोस योजना बनाउनु पर्ने ।
२. स्थानीय सरकारको नेतृत्वमा गाउँपालिका वडासम्म राजनितिक दल, नागरिक समाज लगायतको संयुक्त सर्वदलीय संयन्त्र समिति गठन गरी अघि बढ्नु पर्ने ।
३. २०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण बेथानचोक गाउँपालिका भित्र भएका भौतिक संरचनाबाट क्षति हाल बेथानचोक वडा नं. २ र ४ मा भएको जनधनको अकल्पिनीय क्षतिबारे गम्भिर रूपमा समिक्षा गर्नुपर्ने ।
४. आगामी विकास पुर्ननिर्माण योजना निर्माण गर्दा तत्कालिन, मध्यकालिन, दिर्घकालिन र गुरु योजना निर्माण गर्दा सम्बन्धित विषयको विज्ञ समिति बनाई समितिको सुझावका आधारमा मात्र योजना बनाई राज्यको स्रोत साधनलाई दुरूपयोग हुनबाट जोगाउनु पर्ने ।
५. मिति २०८१ आश्विन १०, ११ र १२ गते भएको अविरल वर्षापछि बाटोघाटो खोल्ने नाममा गरिएका मेसिन ( डोजर) को प्रयोगमा देखिएका स्रोतसाधन (इन्धन, खानाखाजा, मानवीय संसाधन) को असिमित परिचालन, अव्यवस्थित देखिएको हुँदा बिपदकोष मार्फत् गरिएका खर्चको हिसाव विवरण फेहरिस्ता सहित पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्ने ।
६. २०७२ वैशाख १२ गतेको भूकम्पको मोडेल (विपद कार्यविधि, २०७६) अनुसारको जस्तै बाढीपिडित एकिन गर्न खोज्दा वस्तुगत हिसावले मेल नखाएको हुँदा पालिकाको सबै वडाहरूमा हालको मापदण्ड परिमार्जन गरी यथासिघ्र नयाँ मापदण्ड साथै नयाँ कार्यविधि निर्माण गरी कार्यान्वयन गर्नुपर्ने ।
७. बिपद पछि भएको गाउँ कार्यपालिकाको बैठकको निर्णयहरू व्यक्ति, समूहले दिएको दवावको आधारमा पुनः उल्ट्याउँदै अपरिपक्व कार्य गरेको हुनाले यसलाई तुरुन्त सच्याई गाउँपालिकाको गरिमालाई जोगाउनु पर्ने
८. मिति २०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षाको कारण बेथानचोक गाउँपालिकाको कार्यालय मित्र क्षतिग्रस्त प्रशासकीय भवन, भौतिक सामाग्री के कति क्षति भएको हो र सो को सर्जिमिन मुचुल्का भएको हो वा होईन त्यसको तत्काल सार्वजनिक गर्नुपर्ने र मर्मत सम्भार तथा खरिद खर्च पनि सार्वजनिक गर्नुपर्ने ।
९. बेथानचोक गाउँपालिकाको प्रशासकीय भवन जुन स्थानमा रहेको छ सो भवन प्राकृतिक दृष्टिकोणले आगामी वर्षमा यसै गरी क्षतविक्षत हुँदैन भन्ने आधार र ग्यारेण्टी के ? त्यसैले दिर्घकालिन रूपले भौगोलिक र प्राकृतिक दृष्टिकोणबाट उपयुक्त भूगोल छनौट गरी सबै सेवाग्राहीहरूलाई पायक पर्ने स्थानमा सर्वपक्षीय, सर्वदलीय निष्कर्षका आधारमा आवश्यक पर्दा भौगोलिक विज्ञको सुझावको आधारमा निर्णय हुनुपर्ने ।
मदन सिं तामाङ (पेमा) बोधनाथ तिमल्सिना
ईन्चार्ज सचिव
ने.क.पा. (माओवादी केन्द्र) बेथानचोक गाउँपालिका
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।