धुलिखेल– गत असोज १०–१२ गते परेको अविरल वर्षातका कारण धुलिखेल सदरमुकाममा ल्याएको अबरुद्ध भएको खानेपानी सूचारु गर्ने सहमति भएको छ । आज धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुखहरु निराजन जंगम र गिता बञ्जारा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोँजु श्रेष्ठ र पनौती १२ का अध्यक्ष जयराम केसीबीच सहमति भएको हाे ।

खानेपानी अवरुद्ध हुँदा धुलिखेल क्षेत्रमा खानेपानीको हाहाकार भएको दुई महिना पछि विपद्ले क्षति पुर्‍याएको खानेपानीको पाईप, ट्याङ्की लगायतका संरचना पुनर्निर्माण गरी तत्काल खानेपानी सूचारु गर्ने सहमति भएको छ ।

यस्ताे छ सम्झाैता–पत्र

सम्झौता पत्र

२०८१ साल असोज १०-१२ गते आएको भारी वर्षा र बाढीले काभ्रे जिल्लाको रोगी खोला र आसपासको क्षेत्रमा खानेपानीको भौतिक संरचना र धनजनको क्षति भएको अवस्थामा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति द्वारा संचालित खानेपानी आयोजनाको पनौती नगरपालिका वडा नं. १२ तत्कालिन कलाती भुमिडाँडा गा.वि.स. को सप्तकन्या मुलबाट सहमति भई खानेपानी ल्याइ सेवा संचालन गर्दै आएकोमा वर्षादको कारणले पाईप लाइन र संरचना क्षति भएको हुनाले उक्त कार्य पुनः निर्माण कार्य तत्कालै थालनी गर्न धुलिखेल नगरपालिका र पनौती नगरपालिका सँग सम्बन्धित निम्न प्रतिनिधीहरुको उपस्थितीमा बृहत छलफल गरी यो समस्याको सम्बोधन गर्ने गरी समझदारी र सहमति गर्दै हस्ताक्षर गरी यो सहमति गरियो ।

१. धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट तत्कालै स्रोत क्षेत्रमा क्षति भएकोमा उक्त खानेपानीको निर्माण कार्य थालनी गर्ने र धुलिखेल बासीलाई दीर्घकालिन खानेपानीको व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने ।

२. पनौती नगरपालिकाको भौतिक संरचना अत्याधिक क्षति भएको सन्दर्भमा खानेपानिको पुनःनिर्माणको लागि – धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने ।

३. तत्काल पनौती नगरपालिकाको वजार क्षेत्रमा खानेपानीको आपुर्ति लाई ध्यानमा राखी खानेपानीको श्रोत व्यवस्थापन अर्को व्यवस्थापन नहुन्जेल सम्मको लागि पनौती नगरपालिका वडा नं. १२ को बैर महादेव मुलडोलको स्रोत बाट पनौती बजार लाई खानेपानीको स्रोतको व्यवस्था गर्ने ।

४. काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको स्रोत पनौती नगरपालिका वडा नं. १२ बैर महादेवको स्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा वैर महादेव मुलडोलको स्रोत एकिकृतमै समाहित गर्ने ।

५. पनौती नगरपालिका बडा नं १२ को कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा अभियानलाई धुलिखेल खानेपानी उपभोक्ता समितिबाट निर्माण गरिदिने ।

यस खानेपानीको कार्य सम्पादनमा अन्य समस्या आए वा यस सम्झौतामा गरिएको कुनै विषयमा थप छलफल आवश्यक भएमा संयुक्त बैठक बसी समाधान खोज्ने सहमति समेत गरियो । आगामी दिनमा यस खानेपानी आयोजनाको सफलता र समस्या समाधान गर्न सदैव लाग्ने र दुई नगरको साझा सवालमा समेत संयुक्त प्रयासमा समस्या हल गर्दै जाने प्रतिबद्धता जनाउँदछौं ।

अशोक कुमार व्याञ्जु श्रेष्ठ 
नगर प्रमुख, धुलिखेल नगरपालिका

रामशरण भण्डारी, नगर प्रमुख
पनौती नगरपालिका

निराजन जंगम
उप-प्रमुख, धुलिखेल नगरपालिका

गिता बजरा
उप-प्रमुख,पनौती नगरपालिका

कृष्ण भूषण खोंजु श्रेष्ठ
अध्यक्ष, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति

जयराम के.सी.
वडा अध्यक्ष
पनौती नगरपालिका वडा नं. १२ कलाती भूमिडाँडा

इति संवत् २०८१ साल मंसिर १४ गते ने. से ११४५ कछलागा १४ शुक्रवार

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।