धुलिखेल– विपी राजमार्ग स्थित रोशी गाउँपालिका–९ इलाका प्रहरी कार्यालय मंगलटारको चेक पोष्टमा नियमित चेकजाँच गर्ने क्रममा विरामी लिएर आउँदै गरेको एम्बुलेन्सबाट ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार साे एम्बुलेन्समा ३ हजार एम्पुल लागु औषध फेला परेको हाे ।

एम्बुलेन्स चालक धनुषा जिल्लाको धनुषाधाम नरपालिका वडा नम्बर ६ हरिपुर बस्ने ४४ वर्षिय सुरेश मिझारलाई प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सुनौलो–२ महोत्तरीद्धारा सञ्चालित ज १ च १९०८ नम्बरको एम्बुलेन्स महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाडौं तर्फ बिरामी लिएर आउँदै थियो ।

एम्बुलेन्समा ६ वर्षिय विरामी बालक र उनका बुबा आमा थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि बालकलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थिए । गम्भिर अवस्थामा रहेका विरामी बालक लिएर आएको एम्बुलेन्समा लागु औषध फेला परेको हो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शंका लागि एम्बुलेन्स चेकजाँच गर्दा ठुलो परिमाणमा लागु औषध फेला पारेको थियो ।

चालकको सिट भन्दा पछाडी क्लाउड स्टार बि लेखिएको रोतो रंगको जेब्रा झोला भित्र नोफिन लेखिएको २ एमएलको १ हजार एम्पुल, हरियो रंगको जेब्रा झोला भित्र रहेको रियल बस्र्ट म्याङगो लेखिएको कार्टुन भित्र डाइजेपाम लेखिएको २ एमएलको १ हजार एम्पुल र सोही झोलामा रहेको काटुन भित्र फेनारगन १ हजार एम्पुल गरी ३ हजार एम्पुल लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

एम्बुलेन्स चालक सुरेश मिझारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।